माओवादी अध्यक्ष प्रचण्डकोमा पुगेर गृहमन्त्री जनार्दन शर्माले यसरी गरे आत्मआलोचना


काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ। अखिल क्रान्तिकारीको चुनावमा गृहमन्त्री शर्माका भाई अनिल शर्मा पराजित भएपछि शर्मा समूहले पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता वर्षमान पुनलाई आरोपित गरेपछि प्रचण्डले उनलाई स्पष्टिकरणका लागि बोलाएका हुन्।

 

प्रचण्ड निवास लाजिम्पाटमा बुधबार बिहान भएको भेटवार्तामा गृहमन्त्री शर्माले आफूले अध्यक्षलाई क्रस गर्ने गरी नसोचेको र पार्टी लाइनभन्दा बाहिर गएर काम नगरेकोे स्पष्टिकरण दिएका थिए।

माअाेवादी स्रोतकाअनुसार शर्माले अध्यक्षलाई भेटेपछि संसदीय दलका उपनेता समेत रहेका माओवादी नेता टोपबहादुर रायमाझीले अध्यक्ष प्रचण्डसँग लाजिम्पाटमै गएर भेटवार्ता गरेका थिए।

अखिल क्रान्तिकारीको निर्वाचनमा शर्माका भाई अनिल विद्यार्थी नेता रन्जित तामाङसँग पराजित भएपछि गृहमन्त्री शर्माका समर्थकहरुले पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता पुन लागेर अनिललाई हराएको आरोप लगाएका थिए।

अखिल क्रान्तिकारीमा सहमतिको लागि प्रचण्डले पहल गरेपनि विद्यार्थी नेताहरुले चुनावमा भाग लिने अडान लिएपछि क्रान्तिकारीमा पहिलो पटक निर्वाचन भएको थियो।

पार्टी अध्यक्ष प्रचण्डको निर्देशनमा दुवै जना पार्टीको उम्मेदवार भएको भन्दै प्रवक्ता पम्फा भुसालले विज्ञप्ती नै जारी गरेकी थिइन।

 

राष्ट्रिय समाचार समितिका अध्यक्ष समेत रहेका शर्माका भाई ओपेन्द्र शर्माले सामाजिक सन्जाल फेसबुकमा ८० प्रतिशतभन्दा बढी शीर्ष नेताहरु अर्को पक्षमा लाग्दा पनि थोरै मतले पराजित हुनु भनेको अनिलको जित नै भएको भन्दै बधाई दिएका थिए।

शर्माको सचिवालयमा कार्यरत कार्यकर्ताहरुले शर्मालाई माओवादी केन्द्रको अध्यक्ष बनाउनुपर्ने भन्दै फेसबुक पेज नै निर्माण गरेको उजुरी पनि माओवादी केन्द्रका अध्यक्षकोमा पुगेको छ। त्यसैगरी शर्मामाथि यसपछिको पार्टीको नेतृत्वको आफू भएको भन्दै देशभरी गुट निर्माण गर्न खोजेको आरोप छ।

 यसअघि बसेको जिल्ला संयोजकसहितको केन्द्रीय समितिको बैठकमा समेत प्रचण्डले आफू १० वर्ष राजनितीमा सक्रिय हुने भन्दै महत्वकांक्षा नपाल्न चेतावनी दिएका थिए। अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले शर्मालाई संकेत गर्दै आत्मकेन्द्रित व्यक्तिवादले आफूलाई नै सिध्याउने भन्दै त्यसो नगर्न चेतावनी दिएका थिए।

१० मिनेट लामो सम्बोधनमा प्रचण्डले पार्टीका केही नेताहरु एक्लै हिँड्न खोजेको भन्दै त्यसो गरे रवीन्द्र, आलोक र बावुरामहरुको हालत हुने बताएका थिए। उनले सामुहिकतामा विश्वास गर्न समेत नेताहरुलाई निर्देशन दिएका थिए।माओवादीमा प्रचण्ड हुँदासम्म अरु प्रचण्ड बन्न नसक्ने पनि उनको भनाई थियो।

 

उच्च स्रोतले दिएको जानकारीअनुसार शर्माले बुधबार पार्टी अध्यक्ष प्रचण्डसँगको भेटमा आफुले नेतृत्वलाई मानेर जाने बताएका थिए । उनले आफुले कुनै गुट नवनाएको र अध्यक्षलाई क्रस गरेर जाने आफ्नो कुनै पनि सोच नभएको भन्दै स्पष्टिकरण समेत दिएका थिए।

‘हो उहाँहरुबीच आज गम्भीर छलफल भयो, पार्टी अध्यक्ष र वरिष्ठ नेताहरुलाई आरोपित गरेको विषयमा पनि भेटमा कुराकानी भयो,’ प्रचण्ड निकट स्रोतले काठमाडौंपाटीलाई भन्यो।

 

शर्मामाथि उर्जामन्त्री नियुक्त भएदेखि नै आफू प्रचण्डको विकल्प भएको भन्दै पार्टीभित्र गुट निर्माणमा लागेको आरोप लागेको छ। बुधबारको भेटमा शर्माले प्रचण्डलाई आगामी दिनमा आफूले गल्ती नगर्ने भन्दै मलिलो अनुहार बनाएर फर्केका थिए।

यसअघि अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोग लगाउदा समेत शर्माले अध्यक्ष प्रचण्डसँग कुनै सल्लाह नगरेको भन्दै उनको आलोचना भएको थियो।

 

अखिल क्रान्तिकारीका पदाधिकारीको सपथ ग्रहण समारोहमा अध्यक्ष प्रचण्डले दिएको मन्तव्य यस्तो छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement