माओवादी भित्र अर्का ‘गच्छेदार’ फेरी शिक्षामन्त्री बन्दै


काठमाडौं– वाम गठबन्धनको सरकारले पुर्णता पाउने क्रम जारी छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा माओवादी केन्द्र र एमालेबाट मन्त्री बन्न अझै दौडधुप चलिरहेको छ । माओवादी केन्द्रबाट नेता गिरिजमणि पोखरेल पाँचौपटक मन्त्री बन्ने दौडमा लागेका छन् । स्रोतका अनुसार उनी अब यो पटक शिक्षा मन्त्री बन्ने होडमा छन् ।

यसअघि पोखरेल ३ पटक स्वास्थ्य मन्त्री र एक पटक शिक्षा मन्त्री बनिसकेका छन् । २०६२\६३ को जनआन्दोलन लगत्तै माओवादी शान्ति प्रक्रियामा आएपछि ०६४ बैशाखमा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा पहिलो पटक पोखरेल स्वास्थ्यमन्त्री बनेका थिए । वि सं २०६५ भदौमा प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा पोखरेल फेरी स्वास्थ्यमन्त्रीको रुपमा नै सरकारमा प्रवेश गरे ।यसैगरि केपी ओली सरकारको नेतृत्वमा शिक्षामन्त्री भएका पोखरेल कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा फेरी स्वास्थ्य मन्त्री भएका थिए ।

३ पटक स्वास्थ्य मन्त्री हुँदै १ पटक शिक्षा मन्त्रालय सम्हाल्दा फेरि पोखरेल शिक्षा मन्त्रालय नै आफ्नो पोल्टामा पार्न दौडधुप गरिरहेका छन् । त्यसका लागी गत साता प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री ओली,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितको बैठकमा नेता श्रेष्ठले पोखरेलकै लागी एमालेसंग शिक्षा मन्त्रालय मागेका थिए । माओवादीको भागमा परेको शहरी विकास मन्त्रालय एमालेलाई दिएर शिक्षा माओवादीलाई दिने सहमती भएको स्रोतको दाबी छ ।

तत्कालीन जनमोर्चा नेपालमा रहेका उनी पार्टी एकीकरणसँगै माओवादीमा छन् । पोखरेल माओवादी केन्द्रभित्र नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् । नारायणकाजी श्रेष्ठसँग नजिक उनी पटक–पटक मन्त्री पद पाउने ‘भाग्यमानी’ नेताका रुपमा चिनिन्छन् । उनी नेकपा (माओवादी केन्द्र)का सचिव र प्रमुख सचेतक पनि भइसकेका छन् ।

देउवा सरकारको पालामा स्वास्थ्य मन्त्री हुँदा डा. गोविन्द केसीको अनशनको माग ‘चिकित्सा शिक्षा विधेयक’को मस्यौदा निर्माणमा पोखरेलको भूमिका देखिएको थियो । उनका कार्यकाल भने खासै प्रसंसायोग्य छैन् । तथापी अघिल्ला दुई कार्यकालमा स्वास्थ्य क्षेत्रमा सुधार गरेका पोखरेलको ट्रयाकरेकर्ड विवादरहित थियो ।

माओवादी केन्द्रमा रहेको नारायणकाजी श्रेष्ठको गुटमा पोखरेल श्रेष्ठका प्रिय नेता हुन् ।कुनै पनि बेला माओवादी सरकारमा आएपछि नारायणकाजी श्रेष्ठ गुटबाट मन्त्री बन्ने पहिलो नेता पोखरेल हुन् । उनको गुटभित्र अन्य नेता पनि सक्षम छन् । माओवादी केन्द्रमा शशि श्रेष्ठ, लिलामणि पोखरेल, अमिक शेरचन, डिआर पौडेल, अन्जना विशंखे, रामनारायण विडारी जस्ता नेता मन्त्री बन्न लायक छन् ।
तर,उनीहरुको मन्त्री बन्ने पालो कहिल्यै आउँदैन । उनी निकट केन्द्रिय सचिवालयकी सदस्य समेत रहेकी सांसद अन्जना विशंखे महिला र दलित वर्गको पनि प्रतिनिधित्व गर्छिन् । तर श्रेष्ठ गुटले उनलाई मन्त्रीको लाइनमा कहिल्यै उभ्याएन ।

शेरचन, पौडेल, विंशखे, विडारी जस्ता नेताहरुमाथि श्रेष्ठको विश्वास नभएकै कारण उनीहरु पनि मन्त्री बन्न पाएका छैनन । किनभने श्रेष्ठको बुझाइमा ती नेताहरुले गुटभित्रको प्रवृति र अभ्यास बुझेका छैनन् । माओवादी केन्द्रमा कृष्ण बहादुर महरा पनि मन्त्रीमा ह्याट्रिक गर्ने नेता हुन् । माओवादी सरकारमा आउँदा महरा जहिल्यै मन्त्री पद पाउने भाग्यमानी नेता मानिन्छन् । महरा जस्तै श्रेष्ठको प्रवृति पनि उस्तै छ ।

श्रेष्ठ प्रतिनिधि सभाको निर्वाचनमा गोरखाबाट पराजित भएका थिए । नयाँ शक्त्तिका संयोजक बाबुराम भट्टराइसँग हारेका नारायणकाजी पार्टीमा ‘पावरफुल नेता’ मानिन्छन् । निर्वाचनमा जिते पनि हारे पनि श्रेष्ठको ‘पावर’ पार्टीमा उस्तै हुन्छ । पराजित भएपनि आफु निकट नेतालाई मन्त्री बनाउन उनले सकेको शक्ति प्रयोग गर्छन् ।

यसअघि श्रेष्ठले डिआर पौडेललाई शिक्षा मन्त्री नै बनाउन लामो दौडधुप गरेका थिए । आफ्नो गुटको नेतालाई मन्त्री बनाउन उनले पटक पटक पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई पनि घुर्काउँदै आएका छन् । पद नपाए उनले पार्टीमा विद्रोह गर्ने जस्ता धम्की दिने गरेको पनि सञ्चारमाध्यममा खबर आइरहन्छन् । श्रेष्ठले किन जहिल्यै पनि स्वास्थ्य वा शिक्षा मन्त्री रोज्छन्? त्यसमा पनि पोखरेल नै पहिलो नम्बरमा पर्छन् ।

उनी निकटको स्रोत अनुसार श्रेष्ठको नेतृत्वमा देशभर एउटा क्लब (गुट) छ । शिक्षा तथा स्वास्थ्यको नाममा योजनाहरुले ल्याउने त्यही क्लबका सदस्यको खर्च जुटाउन श्रेष्ठ समुह लाग्ने गरेको छ । संस्थागत गुटलाई चलाउन आर्थिक पक्ष बलियो हुन आवश्यक छ । मन्त्रालयबाट उनीहरु आफ्नो गुटको खर्च जुटाउँछन् । नेता नारायणकाजी श्रेष्ठको गुटबाट जहिल्यै शिक्षा र स्वास्थ्य मन्त्रालय सम्हाल्दा यसको अवस्थामा क्रान्तिकारी सुधार आएको भने देख्न सकिन्न । शिक्षा तथा स्वास्थ्यमा छुट्टाइएको बजेट बालुवामा पानी खन्याएको जस्तै हुन्छ ।

निशुल्क भनेको औषधी गाउँगाउँमा पुग्न नसकेको र देशमा साक्षरता बढ्न नसकेको अवस्थामा श्रेष्ठले शिक्षा मन्त्रालय नै रोज्नुको कारण के छ? सरकारको बजेट शिक्षा र स्वास्थ्य क्षेत्रमा अर्वौको हुने गर्छ । तर, नेपालमा अहिलेसम्मको सरकारी प्रतिवेदन हेर्ने हो भने न सार्वजनिक शिक्षामा सुधार आएको छ, न स्वास्थ्य क्षेत्रमा नागरिकले राहत महसुस गरेका छन् । फेरि पनि श्रेष्ठ समुह यही मन्त्रालयको ताकमा किन हुन्छ?

शिक्षा र स्वास्थ्य मन्त्रालय पटक–पटक सम्हालिसकेपछि अब पनि यही मन्त्रालय रोज्नुको पछाडि अर्को मुख्य कारण भनेको स्रोतसँगको राम्रो पहुँच हो । लामो समयदेखि यही मन्त्रालयमा काम गर्दै आएपछि सबैसँग हुने चिनजानले काम गर्न र बाँडफाडमा सजिलो पनि हुने गर्छ । मन्त्रालय मार्फत हुने काम तथा योजनाका डिजाइनरदेखि विज्ञापनसम्मका काम श्रेष्ठको आफ्नै गुटभित्रका समुहले गर्ने गर्छ ।अहिले गिरिराज शिक्षामन्त्री र महरा सभामुख बन्ने लगभग निश्चित भएपछि माओवादी फेरी दुई जना गच्छेदारहरुको चर्चा सुरु भएको छ । माओवादीका कार्यकर्ताले दुवैलाई मन्त्री बन्न लोकसेवा पास गरेका नेताहरु भनेर उडाउने समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement