मन्त्रीको टुंगो लगाउन हेडक्वार्टर बैठक बस्दै, गृहमा बर्षमानलाई जिम्मेवारी दिन दबाव


काठमाडौं– सरकारमा पठाउने मन्त्रीहरुको टुंगो लगाउन माओवादी केन्द्रको हेडक्वार्टर वैठक बस्दैछ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा पठाउने मन्त्रीहरु छान्ने जिम्मा माओवादीले तीन जना नेतालाई दिएको थियो । मन्त्री छान्ने समितिमा अध्यक्ष प्रचण्डसहित वरिष्ट नेताहरु रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ छन् ।

हेडक्वार्टरको शुक्रवार बसेको बैठकले मन्त्रीका आकांक्षी उम्मेदवारको रोस्टर करिब तयार पारेको छ । रोस्टरमा परेका व्यक्तिहरूमध्येबाट शनिवार मन्त्री चयन हुनेछ । माओवादी नेता नारायणकाजी श्रेष्ठले सरकारमा पठाउने मन्त्रीहरुको टुंगो लगाउन आज हेडक्वार्टरको बैठक बस्ने बताए । उनकाअनुसार सवै प्रदेशबाट कम्तीमा एकजना पर्ने गरी छान्ने मन्त्री छनोट गर्ने तयारी छ ।

हेडक्वार्टरले शुक्रवार तयार गरेको रोष्टरमा रामबहादुर थापा, वर्षमान पुन, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, बिना मगर, मातृका यादव, सुदन किराती, अमलनलाल मोदी र देवेन्द्र पौडेललगायत एक दर्जन नेताहरु छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले मन्त्री छान्ने जिम्मा पार्टी हेडक्वार्टरलाई दिएको थियो ।

केन्द्रिय कार्यालयको बैठकमा नेताहरुले  समावेशी, जातीय र क्षेत्रीय सन्तुलन मिलाउने गरी व्यक्ति चयन गर्न आवाज उठेको थियो । माओवादीका भागमा सातवटा मन्त्रालय परेको छ। शुक्रवार मन्त्रिपरिषदको बैठकले मन्त्रालयको संख्या घटाइसकेको छ।

उपप्रधानमन्त्री नराख्ने तयारी
माओवादीमा सरकारको नेतृत्वको विषयलाई लिएर नेताहरुबीच झगडा छ । पार्टीका वरिष्ट नेता रामबहादुर थापाले उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयमा दावी गरेका छन् । राष्ट्रिय सभाबाट सदस्य निर्वाचित थापालाई सरकारको नेतृत्व दिन सुरुमा नेताहरु तयार भएपनि गृहमन्त्रालय नै दाबी गरेपछि भने अन्य नेताहरुले त्यसको विरोध गरेका छन् ।

पुर्व अर्थमन्त्री समेत रहेका माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले समेत गृहमन्त्रालयमा दावी गरेका छन् । उनले कि त सरकारको नेतृत्व आफुले पाउनुपर्ने कि गृहमन्त्रालय आफुलाई दिनुपर्ने दाबी गरेपछि माओवादीमा कस्लाई नेतृत्व दिने भन्नेमा विवाद छ । नेतृत्वमा विवाद भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्षबीच उपप्रधानमन्त्री नराख्ने सहमती भएको छ ।

को बन्छ गृहमन्त्री ?
गृहमन्त्रीका लागी माओवादीभित्र तीन जना नेताहरु प्रतिस्पर्धामा देखिएका छन् । तत्कालका लागी थापा,पुनसहित जनार्दन शर्माले गृहमा दावा गरेका छन् । पार्टी एकिकरणको प्रक्रियामा आफुलाई कोरियोग्राफरको दाबी गरेका शर्माले गृहमन्त्री बन्न प्रधानमन्त्री समेत एमाले रहेका अध्यक्ष ओलीसंग सम्झौता गरेको स्रोतको दाबी छ । शर्मालाई गृहमन्त्री बनाउन प्रधानमन्त्रीले नै माओवादी अध्यक्ष प्रचण्डलाई दबाव दिएका छन् । एमाले नेताहरु बामदेव गौतम र विष्णु पौडेलले समेत उनलाई बनाउन माओवादी नेताहरुलाई दबाव दिएका छन् ।

गृहमन्त्री बन्नेमा ढुक्क रहेका शर्माले गृहमन्त्रीबाट हटेको दुई महिनाभन्दा बढी हुंदा समेत अगुवा–पछुवा गाडी समेत लिइरहेका छन् । उनले गृहसचिव मोहनकृष्ण सापकोटालाई टेलिफोन गरेर आफु गृहमा आउने भएकाले तत्काल सरुवा बढुवा नगर्न यसअघि नै निर्देशन दिएको गृह स्रोतको दाबी छ ।

यता, सुरुमा सरकारको नेतृत्वको दावा मात्रै गरेका वादलले पनि गृहमन्त्रालयमा दावा नछोडेपछि माओवादी नेतृत्वलाई अफ्ठेरो परेको छ ।
गृहमा पुर्व अर्थमन्त्री समेत रहेका माओवादी नेता वर्षमान पुनले समेत दाबा गरेका थिए । आफ्ना समकक्षीहरु शर्मा र शक्ती वस्नेत दुवै जना गृहमन्त्री भइसकेको भन्दै पुनले आफुलाई गृह वा अर्थमध्ये एउटा मन्त्रालय दिन पार्टी अध्यक्ष प्रचण्डलाई आग्रह गरेको स्रोतको दाबी छ । तर, भागवण्डामा अर्थमन्त्रालय एमालेले लिएपछि पुनको गृहमा दाबीलाई माओवादीमा स्वभाविक मानिएको छ। उनि सरकारमा नगएको पनि लामो समय भइसकेको छ ।

माओवादीमा वस्नेत र पुन अध्यक्ष प्रचण्डका विश्वासपात्र मानिन्छन् । पार्टीमा अध्यक्ष प्रचण्ड अफ्ठेरोमा पर्दा वस्नेत र पुन दुवै निसर्त सहयोग गर्ने नेताका रुपमा चिनिन्छन् । पार्टी फुट्दा समेत उनीहरु दुवै जनाले नेतृत्वलाई कांध थापेका थिए । माओवादीमा दुवै नेताको संगठनमा समेत बलियो पकड छ ।

सरकारको नेतृत्वमा बादललाई पठाउने विषयमा माओवादीमा सहमती भएपनि गृहमन्त्रालय उनलाई नदिन माओवादीभित्र चर्को दबाव छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुंदा रक्षामन्त्री बनेका थापा तत्कालिन प्रधानसेनापति रुक्माङगत कटुवालसंगको सम्बन्धका कारण बिवादमा आएका थिए । बादलकै कारण तत्कालिन प्रचण्ड नेतृत्वको सरकार र सेनाकोबीचमा सम्बन्ध समेत बिग्रेको थियो ।

प्रधानसेनापति कटुवाललाई सरकारले बर्खास्त गरेपछि प्रचण्ड नेतृत्वको सरकारले राजिनामा दिन बाध्य हुनुपरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड सुरक्षा निकायसंग बादलको सम्बन्ध समुधुर नभएको भन्दै उनलाई सरकारको नेतृत्व दिएर अर्को शक्तिशाली मन्त्रालयमा पठाउनुपर्ने पक्षमा छन् । तर, बादलले गृहमा रुची छाडेका छैनन् ।

माओवादीमा देउवा नेतृत्वको सरकारमा सामिल भएकाले दोहोर्याउन नहुने र प्रत्येक प्रदेशलाई समेटेर मन्त्रीमण्डल बनाउनुपर्ने आवाज उठेकाले पनि जनार्दन शर्मा गृहमन्त्रीको रेसबाट आउट भइसकेका छन् । किनभने ६ नम्बर प्रदेशबाट पुर्व गृहमन्त्री बस्नेतको मन्त्री बन्ने सम्भावना लगभग निश्चित भएको छ ।

देउवा नेतृत्वको सरकारमा भौतिक योजनामन्त्री बन्न पार्टी नेतृत्वले गरेको प्रस्ताव बस्नेतले अस्विकार गरेका थिए । उनले आफु ओली नेतृत्वको सरकारमा मन्त्री भइसकेकोले मन्त्रीमा आकांक्षी नभएको भन्दै मन्त्री नबन्ने घोषणा गरेका थिए ।

बस्नेतलाई शक्तिशाली मन्त्रालय दिएर सरकारमा पठाउन माओवादीभित्र चर्को दबाव छ । त्यसैगरी अर्थमन्त्री हुंदा राम्रो काम गरेर क्षमता देखाएका पुनलाई गृहमन्त्रालयको जिम्मेवारी दिन पार्टी नेतृत्वलाई चर्को दबाव छ ।

माओवादीमा संस्थापन पक्षले अवसर नपाएको तर,देशैभर बादल समुहलाई मात्र अवसर दिएको भन्दै नेता–कार्यकर्ताले असन्तुष्टी समेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement