एमसीसीबारे माओवादीमा मतभेद : अध्यक्ष प्रचण्ड कार्यान्वयनमा तर महासचिव खुलेरै विरोधमा


काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकी सहयोगको एमसीसी परियोजना कार्यान्वयन गर्नतिर लागेका छन् । आज बुधवारबाट एमसीसी सम्झौता औपचारिक कार्यान्वयन हुँदैछ ।

पार्टी अध्यक्षले एमसीसी कार्यान्वयनमा लागेका बेला पार्टीकै महासचिव देव गुरुङले एमसीसीको विरोध गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महासचिव गुरुङले आजसम्म अमेरिकी एमसीसी कम्पनीले औपचारिक रूपमा, लिखित रूपमा १२ बुँदे व्याख्यात्मक घोषणालाई स्वीकारेको नदेखिएको टिप्पणी गरेका छन् ।

महासचिव गुरुङले व्याख्यात्मक घोषणालाई सम्झौताको अंग नबनाएर एमसीसी कार्यान्वयन नहुने बताए । एमसीसीले सार्वभौम अधिकारसम्पन्न संसदले जारी गरेको १२ बुँदे घोषणाको अवज्ञा गरेकै हो भनेर उनले प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘२०७८ फाल्गुन १५ गते नेपालको संसद्बाट १२ बुँदे घोषणासहित एमसीसी सम्झौताको अनुमोदन गरियो । त्यसबेला मन्त्री लगायतका प्रायः सबै नेताहरूले १२ बुँदे घोषणालाई स्वीकार गरी त्यसलाई एमसीसी सम्झौताको अंग बनाइनुपर्ने र १२ बुँदे घोषणा स्वीकार नहुँदासम्म सम्झौता कार्यान्वयन नहुने भनी संसदको रोष्टमबाट प्रतिबद्वता जाहेर पनि गरिएको थियो तर आजसम्म अमेरिकी एमसीसी कम्पनीले औपचारिक रूपमा, लिखित रूपमा १२ बुँदे स्वीकारेको देखिएको छैन । एमसीए–नेपालले पनि १२ बुँदे शर्तबारे कुनै उल्लेख नगरी निरपेक्ष रूपमा परियोजना कार्यान्वयनको कुरा उठाइरहेको छ । माओवादी केन्द्रको प्रस्ट धारणा छ कि १२ बुँदे घोषणालाई एमसीसी सम्झौताको लिखित अंग नबनाउँदासम्म कार्यान्वयन हुन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस
Advertisement