मेची भन्सारको मुद्दा फछ्र्योटबाट तीन करोड बढी राजश्व


झापा – मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्ष २०७५-७६ मा दर्ता भएका मुद्दा फछ्र्योटबाट मात्रै तीन करोड बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले ५३० मुद्दा फछ्र्योट गर्दा तीन करोड ३६ लाख ५८ हजार राजश्व असुली गरेको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले जानकारी दिए ।

उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४-७५ बाट सरी आएका १७ तथा गत आव २०७५-७६ मा दर्ता भएका ५३२ गरी कूल ५४९ मुद्दामध्ये ५३० फछ्र्योट भएका थिए । झापाका विभिन्न नाकाबाट अवैधरूपमा हुने चोरीका मुद्दामा निकासी भन्दा पैठारीका बढी हुने गरेको भन्सार मुद्दा शाखाका नायवसुब्बा छत्रबहादुर आलेमगरले बताए ।

चोरीपैठारीमा यातायातका साधनदेखि मोटरपार्ट्स, खाद्यान्न, इलेक्ट्रोनिक्स, लत्ताकपडा,जुत्ताचप्पललगायतका सामान रहेका छन् । अवैधरूपमा हुने चोरीपैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा भन्सारबाट कर्मचारीसमेत परिचालन गरिएको प्रमुख भन्सार अधिकृत अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement