काठमाण्डु – सरकारले संसद्मा दर्ता गराएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका प्रावधानहरूप्रति मिडिया राइट्स् नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सरकारले मंगलबार संसद्मा दर्ता गराएको विधेयकमा रहेका कतिपय प्रावधानहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारविरुद्ध रहेको मिडिया राइट्स् नेपालले ठहर गरेको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै संस्थाले विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई नियन्त्रण गर्ने, अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुर्याउने र स्वतन्त्र पत्रकारिताको व्यावसायिक दायरालाई समेत साघुँरो बनाउने उल्लेख गरेको छ ।
मिडिया राइट्स् नेपालका अध्यक्ष रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विधेयकका कतिपय दफामा व्यवस्था गरिएको चर्को आर्थिक दण्ड र जेल सजायले सञ्चार क्षेत्र र नागरिकमा अन्योल र त्रास सिर्जना गराएको छ । यस्ता दण्डकारी व्यवस्था नेपालको संविधान, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास र अन्तरराष्ट्रिय मूल्य र मान्यताविरुद्ध रहेको छ ।’
विज्ञप्तिमा सञ्चार जगतको पेशागत अधिकार र नागरिकको अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयकविरुद्ध आवाज उठाउन मिडिया राइट्स् नेपालद्वारा आह्वान गरिएको छ ।
सरोकारवालासँग समेत कुनै छलफल नगरी ल्याइएको विधेयक सच्च्याई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री बनाउन मिडिया राइट्स् नेपाल सरकारसँग माग समेत गरेको छ ।
प्रतिक्रिया