नेपाली नारीको प्रश्न : प्रसाइलाई कार्वाही गर्न किन ढिलाई ?


– विद्या राजपूत
झापाको बिर्तामोडस्थित बीएण्डसी शिक्षण अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईको चर्चा यतिबेला चुलिएको छ । तर, उनी राम्रो कामले हैन, नराम्रो कामले बढी चर्चित भएका छन् । अझ चर्चित पनि नभनौं, उनी त कुख्यात भएका छन् । मार्सी चामलको भात, बंगलादेशमा एमबीबीएस पढ्ने छात्रालाई सर्टिफिकेटको लागि प्रोफेसरले करणी गरेर राख्नेजस्ता विवादास्पद बयान दिने प्रसाई आम नेपालीको लागि हिन्दी सिनेमाको ‘भिलेन’ जस्तै सावित भएका छन् ।

प्रधानमन्त्रीसँग साँठगाँठ, नेताहरू सबै आफ्नै खल्तीमा अनि पैसाको रवाफले मातिएका प्रसाईलाई अहिले सबैको हेर्ने नजर भनेको ‘मेडिकल माफिया’को रुपमा नै हो । यस्तो कुख्याती कमाउँला भनेर प्रसाई आफैंले कहिल्यै अनुमान समेत गरेका थिएनन् होला । यसको शिलशिला खरायो दौडमा भयो र अन्त्य हुने संघारमा पुगेको छ ।

नेपाली जनताका छोराछोरीले पनि कोटा पद्दतिमा डाक्टर पढ्न पाउने, राजधानीमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्वविद्यालये ५ वटाभन्दा बढी मेडिकल कलेज खोल्न सम्बोधन पाउन नहुने लगायतका अनेकौं जायज माग राख्दै हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी १५ औं पटकको अनशन बसे । उनको अनशन गएराति सरकारसँग सहमति भएर तोडिएको छ ।

यसअघि, उनको अनशन चलिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीएण्डसी अस्पताल झापाका कार्यकारी निर्देशक दुर्र्गा प्रसाइको घर भक्तपुरमा मार्सी चामलको भात खाएको तस्वीरले सामाजिक सञ्जालमा हंगामा मच्चियो ।

एउटा सत्याग्राहीले देशमा मेडिकल कलेज विकेन्द्रीकरण गरिनुपर्छ भन्दै अनशन बस्ने र उसको माग सुनेको नसुनेझैं गर्ने सरकार भने मेडिकल कलेज खोल्न पाउँ भन्दै सम्बोधनको लागि लविङ गर्ने प्रसाईको घरमा खाना नै खान पुगेपछि सरकारको चर्को आलोचना भयो ।

डा. केसीको अनशन संवेदनशील समयमा पुगिरहेको बेला ओली, प्रचण्ड र प्रसाईको मार्सी चामलको भात खाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल हुँदा यसको सबैभन्दा बेफाइदा प्रसाइलाई नै हुन पुग्यो । त्यसपछि एकाएक प्रसाई मिडियामा हिट भए । उनले घुस स्वरुप प्रधानमन्त्रीलाई जुम्लामा पाइने मार्सी चालमको भात जो खुवाएको हल्ला चल्यो । जनता, मिडिया र प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीलाई मार्सी चामलको भात निल्नु र ओकल्नु बनायो ।

यस्ता सानातिना घटना झेल्दै आएका प्रधानमन्त्री ओलीले त मार्सी चामललाई काँचै पचाइदिए । तर प्रसाई ? प्रसाईलाई भने यो घटनाले अझै चित्त बुझेको थिएन । अब आफ्नो कलेजले सम्बन्धन नपाउने हो कि भनेर त्रसित उनले आफूविरुद्ध खनिनेलाई सखाप पार्न नियोजित रुपमा आफ्नै कार्यलयमा पत्रकार सम्मेलन गरे । ओली र प्रचण्डलाई मार्सी चामलको भात खुवाएका घटना सेलाउन नपाउँदै प्रसाईले प्रेस मिटमा विवादास्पद भनाई सार्वजनिक गरे । उनको नियत सफल हुँदै थियो ।

डा. केसीलाई अनशन बसेर डाक्टर पास गरेको आरोप लगाउँदासम्म उनी सुरक्षित नै थिए । तर, उनी कहाँनिर चिप्लिए भने उनले नेपालमा मेडिकल कलेज किन खोल्न नहुने तर्क गर्दैै बंगलादेशमा मेडिकल पढ्न गएका केटाहरू ५ वर्षमा फर्कने तर केटीहरू किन ९ वर्षसम्म पनि फर्कँदैनन् ? भन्दा त्यहाँका प्रोफेसरले करणी गरेर राख्ने कारण ठोकुवाका साथ सार्वजनिक गरे ।

उनले भनेको अर्थ बंगलादेशमा पढ्न गएका विद्यार्थीहरू सर्टिफिकेटको लागि शरीर बेचेर पढिरहेका छन् । त्यसकारण नेपालमै उनले मेडिकल कलेज खोल्न पाउनुपर्छ भन्ने हो ।प्रसाई निकै आवेगमा आफ्ना कुराहरू राखिँरहदा र आफूले मेडिकल कलेज किन खोल्न पाउनुपर्छ भन्ने तर्क गरिरहँदा बंगलादेशमा पढ्न गएका विद्यार्थीलाई बलिको बोको बनाएको पत्तै पाएनन् । उनले नारी शक्तिलाई बुझ्नै सकेनन् ।

उनले बोलेका ती शब्द फेरि सामाजिक सञ्जालमा रातारात भाइरल भए । बंगलादेशमा मेडिकल पढिरहेका महिलामाथि धावा बोलेपछि उनको चौतर्फी विरोध भयो । नेपाली मेडिकल स्टुडेन्ट एसोसिएसन बंगलादेशका अध्यक्ष नविन यादवले पनि एक विज्ञप्ति जारी गरेर उनको भनाईले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत हजारौं विद्यार्थीमाथि चोट परेको भन्दै विरोध जनाए । महिलाका विषयमा तथ्यहीन वक्तव्य दिएको भन्दै मानव अधिकार आयोग, महिला संघ, समुह, आदिले घोर आपत्ति जनाए । चारैतिरबाट प्रसाईलाई कारवाहीको माग चलिरह्यो ।

प्रसाईको भनाई सेलाउन नपाउँदै कानून मन्त्री शेरबहादुर तामाङले पनि प्रसाईकै भनाई पछ्याउँदै एक कार्यक्रममा बंगलादेशमा चिकित्सक शिक्षा पढ्न गएका नेपाली चेलीहरू आफ्नो ज्यान बेच्न बाध्य भएको बताउँदा उनको चौतर्फी विरोध भयो ।

केसम्म भयो भने प्रतिपक्ष दल नेपाली कांग्रेसले यही भनाईलाई एजेण्डा बनाउँदै कानून मन्त्रीलाई पदबाट राजीनामा दिन विरोधका र्याली निकाले । मन्त्रीजस्तो पदमा बसेर महिलामाथि बिना आधार सर्टिफिकेटको लागि शरीर बेच्न बाध्य भएको गैरजिम्मेवार वक्तव्य दिएको भन्दै मन्त्री तामाङलाई पदबाट राजीनामा दिन सरकारले आदेश दियो । उनले पनि पत्रकार सम्मेलन गर्दै रुँदै राजीनामा दिए । तामाङले नैतिकताको आधारमा आफूले पद त्यागेको स्पस्ट पारे जुन कुराले प्रशंसा पनि कमायो ।

कानून मन्त्री तामाङले प्रमाण जुटाउन नसकेपनि नैतिकतालाई आधार बनाएर एक नजिर कायम गरे । जिम्मेवार व्यक्तिले प्रमाण बिना केही बोल्न हुँदैन भनेर नेपाली समाजमा एउटा आधार रेखा तयार भयो । तर, फेरि कुरा प्रसाईकै रह्यो । विवादमा तानिएर पनि उनी खुलेआम घुमिरहेका छन् । उनले एउटा सानो प्रेस नोट जारी गर्दै कसैमाथि चोट पुग्न गएमा क्षमा माग्दै उम्किने प्रयास गरे । तर, जारी विज्ञप्तिमा उनले बोल्न पाउने नैर्सगिक अधिकार हनन् भएको, आफ्नो वक्तव्यलाई तोडमोड गरेर सामाजिक सञ्जालमा नियोजित रुपमा प्रचार गरिएको, आफ्नै मानहानी गरेकोजस्ता कुरा लेखेर स्पष्टीकरण दिए । तर, उनको त्यो स्पष्टीकरणले पनि सम्बन्धित कसैको चित्त भने बुझेको छैन ।

बिना आधार महिलाको नैतिकता पतन गरेर बोलेपनि उनको बोली र व्यवहारमा कुनै असर परेन । कानून मन्त्री तामाङजस्तो नैतिकता देखाउने साहस उनले देखाउन उनले सकेनन् । अनि उनीमाथि लागेको आरोपलाई प्रमाण दिएर गलत सावित पनि गर्न सकेनन् । भलै उनले बोलेका विषय अनुसन्धान हुन जरुरी छ ।

प्रसाई एक व्यापारी हुन् । अझ भनौं उनी प्रधानमन्त्री ओलीका नातेदार पनि हुन् र उनले मेडिकल कलेज खोल्न प्रधानमन्त्री ओली र प्रचण्डलाई समेत हातमा लिएका छन् । मन्त्रीलाई राजीनामा दिन दबाब दिने सरकारले प्रसाईलाई सामान्य सोधपुछ पनि गर्न सकेको छैन । कारबाहीको कुरा त परै जाओस् । अनशन गरेका केसीले भने सरकारले प्रसाईजस्ता मेडिकल माफियालाई प्रशय दिएको आरोप लगाउँदै आएका छन् ।

बंगलादेशमा एमबीबीएस पढ्दै गरेका छात्राले पनि आफूमाथि गम्भीर लान्छाना लगाएकाले प्रसाईलाई कारवाही गर्नुपर्ने माग गरेका छन् । थोरै पनि नैतिकता भएको भए प्रसाईले नेपाली विद्यार्थी बारेमा त्यसो भन्ने हिम्मत समेत गर्ने थिएनन् । तर, उनले त्यसै गरे त्यो पनि पत्रकार सम्मेलन गरेर ।

सार्वजनिक रुपमा प्रमाण बिना महिला अस्मितामाथि धावा बोल्ने प्रसाईलाई नेपाल सरकारले मानहानीको विरुद्धमा कारवाही किन गर्न सक्दैन ? चौतर्फी रुपमा विरोध र कारवाहीको माग हुँदा पनि नेपाल सरकार किन मौन छ ? यो प्रश्न अहिले आम मानिसको हो, जसले नेपाल सरकारमाथि न्यायको अपेक्षा गरिरहेका छन् । प्रसाईमाथि महिला आयोगमा पनि उजुरी परेको छ । त्यो सुनुवाई गर्न सरकारले कस्तो पहल गर्ला ? बलियो सरकारको समयमा प्रसाईले सजाय पाउन अझैं आम नागरिकले कति स्वर चर्को बनाउन पर्ने हो ?

‘सुखी नेपाली, समृद्ध नेपाल’ नाराका साथ अगाडि बढेको र दुईतिहाई मत भएको सरकार एक जनालाई कारवाही गर्न ढिलासुस्ती गर्नै हुँदैन । मेडिकल माफियाको नाममा प्रख्यात प्रसाईलाई नेपाली नारीमाथि धावा बोल्ने हक कदापी छैन । सानो कागजमा माफ उनी मागेर चोखिँदैनन् । विद्यार्थी, अभिभावक, नागरिक समाज, महिला संघ, सम्पूर्ण सरोकारवालाबाट कारबाहीको आवाज उठिरहँदा प्रसाई आफूलाई बचाउन नेताहरूको दैलो चहार्छन् कि नैतिकता देखाउँछन् ? यो हेर्न बाँकी छ ।

तर, उनलाई कानूनी दायरामा ल्याई छिटोभन्दा छिटो कारवाही नगरे आम जनता सडकमा उत्रिन समय लाग्ने छैन । अब भने प्रसाई र सरकार दुवैले आफ्नो नैतिकता देखाउने बेला आएको छ । प्रसाईको दादागिरीबाट के नेपाली जनताले न्याय पाउँछन् ? प्रतिक्षा गरौं अनि आश पनि ।

प्रतिक्रिया दिनुहोस
Advertisement