सरकार-केसी सहमतिले मनमोहनको ढोका बन्द,बिएन्डसीलाई खुला


काठमाडौ- सरकार र डा गोविन्द केसीबीच बिहीबार भएको सहमतिले मेडिकल कलेज खोल्न इच्छुक दुइ अस्पतालको भविष्य निर्धारण गरेको छ।  सहमति अनुसार झापाको बिएन्डसी अस्पतालले भविष्यमा मेडिकल कलेजको सम्बन्धनको बाटो खुलेको छ भने स्वयम्भूस्थित मनमोहन स्मृति अस्पतालको ढोका बन्द भएको छ।

विधेयकको दफा १२ को संशोधनमा ‘ऐन प्ररम्भ भएको मितिले १० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्न मेडिकल कलेजको आशय पत्र प्रदान नगरिने’ व्यवस्था छ ।

बिहीबार राति भएको केसी सरकार सहमतिमा आशय पत्र पाइसकेका र सबै मापदण्ड तथा पूर्वाधार पूरा गरेका अस्पताललाई दुई वटा विकल्प दिइएको छ।

पहिलो, सरकारलाई सम्पत्ति हस्तान्तरण गर्ने अर्थात् सम्बन्धित धनीले बेच्न चाहेमा सरकारले किन्न सक्नेछ। र दोस्रो, चिकित्सा शिक्षा आयोगले प्राथमिकता तोकेको क्षेत्रमा स्थानान्तरण गर्न चाहेमा सरकारले प्रोत्साहन सुविधा दिने अर्थात् कसैले सम्पत्ति नबेचेर आयोगले तोकेको क्षेत्रमा स्थानान्तरण गर्न चाहे सरकारले प्रोत्साहन सुविधा उपलब्ध गराउने व्यवस्था छ।

मनमोहन स्मृतिसँग यो विकल्प हुनेछ। यदि सम्पत्ति पनि नबेच्ने र स्थानान्तरण गरेर मेडिकल कलेज पनि नचलाउने हो भने काठमाडौंमै अहिले जस्तै अस्पताल मात्र चलाएर बस्न सक्नेछ।

प्रावधानअनुसार आशय पत्र पाइसकेका मनमोहन वा कुनै पनि अरु अस्पतालले आउने १० वर्षसम्म काठमाडौंमा मेडिकल कलेज खोल्न पाउने छैनन्।

केपी ओली पहिलोपटक प्रधानमन्त्री भएकै बेला मनमोहन अस्पताल सरकारलाई बेच्न सहमति भएको थियो। यसलाई वीर अस्पताल मातहतको राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानले किन्ने र सो प्रतिष्ठानको नाम मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान राख्ने सहमति सरकारले डा केसीसँग गरेको थियो। भने व्यवसायी दुर्गा प्रसाईंको झापास्थित बिएन्डसीलाई भने भविष्यका निम्ति मेडिकल कलेजको बाटो खुलेको छ।

ऐनले कुनै पनि विश्वविद्यालयलाई पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन रोक लगाए पनि काठमाडौं बाहिरका अस्पतालका हकमा भने आयोगले निर्णय बाटो खुला राखेको छ।

चिकित्सा शिक्षा आयोगले नै काठमाडौं बाहिर मेडिकल कलेज खोल्ने नीति तर्जुमा गर्नेछ। आयोगले स्वीकृति दिएमा बिएन्डसीले मेडिकल कलेजको सम्बन्धन पाउन सक्नेछ।
काठमाडौं नेसनल मेडिकल अस्पताल , नख्खुमा रहेको नेपाल मेडिसिटी, काठमाडौं नेसनल मेडिकल अस्पताल कलेज चलाउन आकांक्षी थिए। तर बाटो बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement