चिनियाँ उपमन्त्री सुन नेतृत्वको प्रतिनिधि मण्डल र दलका शीर्ष नेताबीच छलफल


काठमाण्डु- नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डलले राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेको छ ।

आइतवार होटल सोल्टीमा भएको छलफलमा दुई देशबिच सम्बन्ध बिस्तार, सहयोग आदानप्रदान, सहकार्य लगायत विषयमा छलफल भएको हो । छलफलका क्रममा हाइयानले कतिपय देशले नेपाल र चीनको सम्बन्ध राम्रो देख्न नचाहेको बताएकी छन् ।

‘हामी राजनीतिक दलहरूबीच राम्रो सम्बन्ध बनाउन चाहन्छौं । किनभने केही देशहरु हाम्रो सम्बन्धमा भाँजो हाल्न चाहिरहेका छन् ‘, उनले भनिन् । अहिले गुटहरू बनाउने, क्षेत्रीय द्वन्द्व बढाउने र गलत अफवाह फैलाउने काम भएको बताउँदै उनले त्यसलाई चिर्दै चीन र नेपालबीचको मित्रता अझ बलियो बनाउन जरुरी रहेको बताइन् ।

छलफलमा कांग्रेसबाट नेता डा.शेखर कोइराला, एमालेका महासचिव शङ्कर पोखरेल, माओवादी केन्द्रका महासचिव देव गुरुङ, राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्याल लगायत विभिन्न दलका शीर्ष नेताहरू सहभागी थिए । यसअघि सुनले प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख दलका शीर्ष नेताहरूसँग भेट गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा चासो तथा दुई पक्ष हितको विषयमा छलफल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement