लैनचौर पुगेर अमेरिकी राजदूत थम्प्सनले गरे उपराष्ट्रपति यादवसँग शिष्टाचार भेट


काठमाण्डु – नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्प्सनले लैनचौर पुगेर उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेट गरेका छन् ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज बिहीबार भएको भेटमा २ मुलुकबीचको सम्बन्ध, विकास सहायता, व्यापार र साझा चासोलगायत विषयमा छलफल भएको छ ।

उपराष्ट्रपति यादवले सन् १९४७ मा नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता सुमधुर सम्बन्ध रही आएको बताए । ‘हाम्रो सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित छ,’ उनले भने, ‘लोकतन्त्र, मानवअधिकार, स्वतन्त्रता हामी २ मुलुकका साझा मूल्यमान्यता हुन् ।’

उनले सन् १९५१ देखि अमेरिकी सरकारले नेपाललाई विकास सहायता उपलब्ध गराउँदै आएको कुरा उल्लेखनीय रहेको बताए । ‘नेपालको विकासमा अमेरिकी सहयोगको नेपालले उच्च कदर गर्दछ,’ उनले भने, ‘अमेरिकासँगको सम्बन्धलाई नेपालले सदा उच्च महत्त्वका साथ हेर्ने गरेको छ ।’

उपराष्ट्रपति यादवले नेपालको संसद्ले एमसीसी अनुमोदन गरेपछि नेपालको पूर्वाधार विकासमा अमेरिकी सहयोगको सुनिश्चितता अझ बढेको बताए ।

उपराष्ट्रपति यादवले नेपालको आर्थिक–सामाजिक विकास तथा लोकतन्त्रको सुदृढीकरणमा अमेरिकाले गरेको सहयोगका लागि राजदूतमार्फत अमेरिकी सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । ‘अमेरिकाबाट प्राप्त विकास सहायताले स्वास्थ्य, शिक्षा, यातायात, सञ्चार, कृषि र वातावरण लगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएको छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि अमेरिका र नेपालले मानव कल्याणसँग सम्बन्ध राख्ने साझा चासोका विषयमा सहकार्य गर्दै आएकोमा खुशी लागेको छ ।’

भेटमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्प्सनले अमेरिकाले नेपालसँग बलियो सम्बन्ध बनाउन चाहेको बताए । उनले संयुक्त राष्ट्रसंघको चार्टरलाई नेपालले समर्थन गर्नु सकारात्मक रहेको उल्लेख गर्दै नेपालमा एमसीसी परियोजना राम्रोसँग सञ्चालन भइरहेकामा खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement