उपप्रधानमन्त्री श्रेष्ठ र सिजाङ्ग क्षेत्रका सचिव वाङबीच भेटवार्ता


काठमाण्डु – उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टी सिजाङ्ग स्वायत्त क्षेत्रका सचिव वाङ झुङहेङसँग भेटवार्ता गरेका छन् ।

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठले सचिव वाङसँगको भेटमा नेपाल–चीन सीमा क्षेत्रका वासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न आग्रह गरेका छन् ।

सीमा क्षेत्रका किसानलाई तिब्बतमा चरनको व्यवस्था मिलाउन, नेपाली ट्रक–कन्टेनर चालकलाई तिब्बत प्रवेश पास उपलब्ध गराउन तथा नेपालको उच्च हिमाली क्षेत्रमा विद्युतीकरणका लागि सहयोग गर्न उनले आग्रह गरेका छन् ।

बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यिसँगको भेटमा नेपाल–चीन परम्परागत १४ वटा नाका खुलाउने सहमति भएको बताउँदै उनले त्यसका लागि सिजाङ्ग सरकारले सहजीकरण खोजेका छन् । नेपाल–चीन सीमा क्षेत्रमा १४ वटा परम्परागत नाका सञ्चालन हुँदै आएकोमा कोरोना महामारीपछि बन्द भएका थिए ।

नेपाल र चीनबीच सन् १०१२ मा भएको चरन सम्बन्धी सम्झौताअनुसार पुनः चरन सुविधा उपलब्ध गराउन उनले आग्रह गरेका छन् । नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई प्राथमिकता साथ अघि बढाउन आग्रह गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सीमावर्ती क्षेत्रमा विद्युतीकरणका लागि सहयोग मागेका छन् ।

आगामी महिना नेपालमा आयोजना हुने लगानी सम्मलेनमा सिजाङ्ग सरकार, लगानीकर्ता तथा व्यवसायीलाई उनले आमन्त्रण गरे । उनले काठमाण्डु–ल्हासा बस सेवा पुनः सञ्चालनको व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् ।

प्रतिनिधि मण्डलस्तरमा भएको वार्तामा नेपालका तर्फबाट चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, लाह्सास्थित नेपाली महावाणिज्यदूत नवराज ढकाल, बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुरेन्द्रकुमार यादव, उपप्रधानमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठलगायत थिए ।

चीनका तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टी सिजाङ्ग क्षेत्रका उपसचिव यान जिन्हाई, अर्का उपसचिव चेन योङक्वी, सिझाङ कमिटीका स्थायी समिति सदस्य दावा सीरेन लगायत उच्चपदस्थ अधिकारी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement