प्रधानमन्त्री प्रचण्डसँग एम्नेस्टी इन्टरनेसनलकी महासचिवको शिष्टाचार भेट


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एम्नेस्टी इन्टरनेसनलकी महासचिव अग्नेष्ट कालामार्डले शुक्रबार शिष्टाचार भेट गरेकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा उनीहरूबीच संक्रमणकालीन न्याय एवं मानवअधिकार सम्बन्धी विविध विषयमा छलफल भएको छ ।

भेटमा प्रधानमन्त्री प्रचण्डले मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै मानवअधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गर्न नेपाल सधैं प्रयत्नशील रहेको स्पष्ट पारे । उनले संसद्मा विचाराधीन रहेको संक्रमणकालीन न्याय सम्बन्धी मस्यौदा विधेयक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला पक्षलाई विश्वासमा लिएर अगाडि बढाइने बताए ।

सो अवसरमा महासचिव कालामार्डले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्री प्रचण्डले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै संक्रमणकालीन न्याय सम्बन्धी कानून छिट्टै निर्माण हुने र शान्ति प्रक्रिया टुंगिने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement