काठमाण्डु – गृहमन्त्री रमेश लेखक र नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता भएको छ ।
गृहमन्त्रीको कार्यकक्षमा शुक्रबार भएको भेटमा गृहमन्त्री लेखक र नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक सिस्लेन सहितका पदाधिकारीबीच भेटवार्ता भएको हो ।
उनीहरूबीच विश्व बैंकले नेपालको विभिन्न परियोजनामा लगानीबारे छलफल भएको थियो ।
२०७२ सालको भूकम्पपछिको पुनर्निर्माणमा विश्व बैंकको ऋण तथा प्राविधिक सहयोगले समयमै पुनर्निर्माण गर्ने कुरामा सहयोग पुगेको गृहमन्त्री लेखकले बताए ।
विश्व बैंकले नेपाललाई ऋण दिँदा पूरा गर्नुपर्ने विभिन्न कार्यमध्ये पूर्वकार्य गर्न बाँकी रहेकोबारे सिस्लेनले चासो राखेका थिए । ‘ऋणको अन्तिम किस्ता लिनुपूर्व गर्नुपर्ने पूर्वकार्य बाँकी छ । विपद् संवेदनशील सामाजिक सुरक्षा तथा अनुदान वितरण मापदण्ड पास गरिसकेपछि ऋणको अन्तिम किस्ता दिने गरिन्छ । यो ढिला भयो । विपद् व्यवस्थापनका क्षेत्रमा नेपाललाई चाहिने वित्तीय सहयोग गर्न तयार छौं,’ उनले भने ।
गृहमन्त्री लेखकले आफ्नो तर्फबाट गर्नु काममा कुनै ढिलाइ नहुने प्रतिबद्धता व्यक्त गरे । उनले अहिलेसम्म विश्व बैंकले गरेको योगदानका लागि धन्यवाद दिए ।
विपद् व्यवस्थापनका लागि ऋणभन्दा पनि बढी अनुदान सहयोगका लागि गृहमन्त्री लेखकको जोड थियो । ‘जलवायु परिवर्तन हामीले सिर्जना गरेको होइन । त्यसबाट भएको क्षति, नोक्सानी, पुनर्निर्माणका लागि हामीले ऋण मात्र बोकेर कसरी विपद् व्यवस्थान गर्न सक्छौं ? त्यसैले अनुदानका परियोजनाहरू बढाउनुपर्यो,’ उनले भने ।
प्रतिक्रिया