काठमाण्डु – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङबीच शिष्टाचार भेटवार्ता भएको छ ।
मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरूबीच नेपाल–भुटान बीचको द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउनेलगायत विषयमा छलफल भएको मन्त्री ठकुरीको निजी सचिवालयले जनाएको छ ।
भेटमा नेपाल र भुटानको धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक र वातावरणीय सम्बन्ध थप बलियो बनाउनेबारे कुराकानी भएको थियो ।
त्यस अवसरमा मन्त्री ठकुरीले उच्चस्तरीय भेटवार्ताले द्विपक्षीय र क्षेत्रीय सम्बन्ध अझ विस्तार हुने बताएका थिए । उनले भुटानले पछिल्लो समय जलविद्युत्, ऊर्जा, प्राकृतिक स्रोेत संरक्षण र पर्यटकीय क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेकामा भुटानको प्रशंसा समेत गरेका थिए ।
‘हामी सार्कमा आबद्ध छौं, पर्वतीय क्षेत्रका मुद्दाबारे हाम्रो साझा अवधारणा छ । नेपाल र भुटानले पर्यापर्यटन, जलविद्युत्, पहाडी खेती र जडिबुटी क्षेत्रमा थुप्रै सहकार्यको सम्भावना छ,’ उनले भने ।
भुटानका मन्त्री छिरिङले नेपाल र भुटान जलवायु परिवर्तनका असरबाट बढी प्रभावित भएकाले जलवायु सम्मेलन लगायत अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले साझा मुद्दासहित प्रस्तुत हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।
प्रतिक्रिया