राष्ट्रपति पौडेल र यूएईका उपप्रधानमन्त्री नाह्यानबीच शिष्टचार भेट

राष्ट्रपति पौडेल र यूएईका उपप्रधानमन्त्री नाह्यानबीच शिष्टचार भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसंग संयुक्त अरब इमिरेट्स (यूएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले शिष्टचार भेट गरेका छन् ।

मंगलबारदेखि नेपालको २ दिने औपचारिक भ्रमणमा रहेका यूएईका उपप्रधानमन्त्री नाह्यानले राष्ट्रपति भवन शितल निवासमा बुधबार भेट गरेका हुन् ।

भेटमा राष्ट्रपति पौडेलले विश्वका सबै देशहरूलाई जलवायु परिवर्तन विरुद्धको कार्यलाई तीव्र बनाउन आग्रह गर्दै स्रोतसाधन आवश्यक भएका देशहरूलाई जलवायु परिवर्तन र यसबाट सिर्जित क्षतिपूर्तिका लागि प्राविधिक र आर्थिक सहयोग प्रदान गर्न समेत अनुरोध गरे ।

उनले विश्व मञ्चहरूमा जलवायु न्यायका लागि आफूले आवाज उठाउँदै आएको र नेपाल जलवायु परिवर्तनको मारमा परिरहेको बताउँदै नेपाल र संयुक्त अरव इमिरेट्सले पहाडी र तटीय मुलुकहरूको रूपमा जलवायु परिवर्तनको प्रतिकूल प्रभावको साझा जोखिमको सामना गरिरहेको र जलवायू परिवर्तनबाट सिर्जित विपद्ले हाम्रो दुर्लभ स्रोतसाधनलाई प्रतिकूलता प्रदान गरेको उल्लेख गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले संयुक्त अरब इमिरेट्समा ४ लाखभन्दा बढी नेपालीहरूलाई रोजगारीको अवसर प्रदान गरेको धन्यवाद दिँदै भने, ‘संयुक्त अरब इमिरेट्स ४ लाखभन्दा बढी नेपालीहरूको लागि दोस्रो घरको रूपमा रहेको छ ।
उनीहरूले २ देशबीच जनस्तरको सम्बन्ध विस्तारका लागि जीवित पुलको रूपमा पनि काम गरिरहेका छन् ।
‘तपाईंको सुन्दर देशमा यति ठूलो संख्यामा नेपालीहरूलाई रोजगारीको अवसर प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद,’ संयुक्त अरब इमिरेट्स नेपालको चौथो ठूलो व्यापारिक साझेदार देश भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भने, ‘हाम्रो द्विपक्षीय व्यापार अभिवृद्धि गर्न सकिने ठूलो सम्भावनामा निजी क्षेत्रको संलग्नतालाई हामीहरूले प्रोत्साहित गर्नुपर्छ । संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरूलाई कृषि, खानी, जलविद्युत्, पूर्वाधार विकास, पर्यटन र आतिथ्य, सूचना प्रविधि र सेवा क्षेत्र जस्ता सम्भाव्य क्षेत्रहरूमा लगानी गर्न प्रोत्साहित गरिदिन अनुरोध गर्दछु ।’

गत महिना रमजानको पवित्र महिना र ईदको पर्वको पावन अवसरमा १८ जना नेपाली कैदीहरूलाई आममाफी दिने र रिहा गर्ने संयुक्त अरब इमिरेट्सको मैत्रीपूर्ण कदमको उच्च कदर गर्दै उक्त मानवीय कदमका लागि उनले कृतज्ञता पनि व्यक्त गरे ।

सो अवसरमा (यूएई)का उपप्रधानमन्त्री नाह्यानले जलवायु न्यायका सम्बन्धमा राष्ट्रपति पौडेलको भनाईको उच्च कदर गर्दै तथा ती भावनालाई मार्गदर्शनका रूपमा लिने बताए । ‘जलवायु परिवर्तनका क्षेत्रका कार्यलाई कठिनाइ भइरहेको छ । तर यो मानव सिर्जित समस्या हो र हामीले भावी सन्ततीलाई सुन्दर विश्व हस्तान्तरण गर्नैपर्छ,’ नाह्यानको भनाई उदृत गर्दै सल्लाहकार पोखरेलले भने ।

उनले नेपाल र यूएईबीच सहकार्यका धेरै सम्भावनाहरू रहेकाले यसका लागि प्रयत्नहरू जारी राख्नुपर्ने बताउँदै भने, ‘नेपाल र यूएईबीचको सम्बन्धलाई उचाइमा पुर्‍याउने र प्रगाढ बनाउने प्रचुर सम्भावना छ । यसका लागि म यूएई सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु ।’