ऊर्जामन्त्री खड्कासँग अमेरिकी राजदूतको भेट

ऊर्जामन्त्री खड्कासँग अमेरिकी राजदूतको भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।

ऊर्जा मन्त्रालयमा बुधबार भएको भेटमा २ देशबीचको ऊर्जा सहकार्य र मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) परियोजना कार्यान्वयनका विभिन्न पक्षमा छलफल भएको हो ।

भेटमा उर्जामन्त्री खड्काले एमसीसी परियोजनामार्फत अगाडि बढाइएका आयोजनाको काम निरन्तर अगाडि बढिरहे पनि एमसीसी केही समयदेखि होल्ड भएकाले केही अन्योल सिर्जना गरेको बताए । उनले एमसीसी परियोजना निरन्तर अगाडि बढ्ने र ऊर्जा क्षेत्रमा अमेरिकाको थप सहयोग हुने विश्वास व्यक्त गरे ।

भेटमा अमेरिकी राजदूत थम्पसनले नेपालको ऊर्जा क्षेत्रमा अमेरिकाको निरन्तर साथ र सहयोग रहने बताए । एमसीसी परियोजनालाई अगाडि बढाउन हरसम्भव पहल र प्रयास भइरहेको उनले बताए ।

उनले अहिले एमसीसीअन्तर्गत अगाडि बढाइएका आयोजनालाई निरन्तर अगाडि बढाउन नेपाल सरकारको तर्फबाट गरिनुपर्ने सहयोगका लागि आग्रह गरे ।

एमसीसी अन्तर्गत सञ्चालित एमसीए परियोजनाका लागि अमेरिकाले ५०० मिलियन डलर र नेपालले १९७ मिलियन डलर खर्च गर्ने सम्झौता भएको थियो । परियोजनाअन्तर्गत लप्सीफेदी–रातमाटे, रातमाटे–दमौली, दमौली–बुटवल र बुटवल– नेपाल–भारत सीमासम्म (गोरखपुर) ४०० केभी प्रसारण लाइन र सम्बद्ध सवस्टेसनहरू निर्माण हुनेछ ।

भेटमा एमसीसी तथा एमसीएका प्रतिनिधि तथा मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।