काठमाण्डु – कार्यव्यवस्था समितिको बैठकले प्रतिनिधिसभा बैठकको जेठ र असारको पाक्षिक सम्भावित कार्यतालिका सार्वजनिक गरिएको छ ।
शुक्रबार बसेको समितिको बैठकले जेठ १६ देखि ३१ गतेसम्म र असार १–१२ गतेको सम्भावित कार्यसूची टुंग्याएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उनले २० गतेदेखि प्रारम्भ हुने बैठकमा सहज ढंगले लैजाने गरी आग्रह गरेको पनि जानकारी दिए ।
उनले भने, ‘बैठकमा राम्रो छलफल भयो । यो बजेट पारित गर्ने समयसम्मको कार्यतालिकाहरू बनाएका छौं । २० गतेदेखि प्रारम्भ हुने बैठकमा सहज ढंगले लैजाने गरी आग्रह गर्यौं । हरेकपटक सदन बन्द गर्ने सानो–सानो कुरालाई पनि मसला बनाएर लैजाने कुरा राम्रो होइन् । त्यसले संसदीय प्रणालीमा ठूलो चुनौति पैदा गर्छ । त्यसले यसमा गम्भीर भएर सोच्न पर्नेछ ।’
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार जेठमा १० वटा र असार १२ गतेसम्म ९ वटा बैठक निर्धारण गरिएको छ ।
जेठ २० गतेबाट बजेटमाथि छलफल प्रारम्भ हुनेछ भने २३ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि उठेका जवाफमा प्रष्टीकरण दिनेछन् ।
जेठ २६ गतेबाट मन्त्रालयगत छलफल र खर्च कटौतीका प्रस्तावहरू राखिएको छ भने सम्भावित तालिकाअनुसार २० गते संघीय निजामती सेवा विधेयक पेश गरिनेछ । सम्भावित तालिका अनुसार २५ गते भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पेश गरिनेछ ।
प्रतिक्रिया