काठमाण्डु – राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको जापानी संसदीय प्रतिनिधि मण्डलले भेटवार्ता गरेको छ ।
नेपाल भ्रमणमा रहेको हाउस अफ काउन्सिलर जापानका सदस्य तथा जापान–नेपाल संसदीय मैत्री लिगका अध्यक्ष योसुके सुरुहा नेतृत्वको टोलीले सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष दाहालसँग भेटवार्ता गरेको हो ।
भेटमा २ देशबिचको सम्बन्ध, आपसी हित, संसदीय सहकार्य र सहयोगका विषयमा कुराकानी भएको थियो ।
सो अवसरमा राष्ट्रियसभा अध्यक्ष दाहालले जापान नेपालको महत्वपूर्ण विकास साझेदार रहेको चर्चा गर्दै नेपाललाई विभिन्न क्षेत्रमा जापानले सहयोग गर्दै आएको बताए ।
नेपाल–जापान कूटनीतिक सम्बन्धका ७० वर्ष भइसकेको उल्लेख गर्दै अध्यक्ष दाहालले विभिन्न कूटनीतिक तथा संसदीय भ्रमणहरूले २ देशबिचको सम्बन्धलाई थप मजबुत बनाउन भूमिका खेल्ने बताए ।
नेपालको संघीय संसद्ले छिट्टै नेपाल–जापान संसदीय मैत्री समूह गठन गर्ने जानकारी गराउँदै अध्यक्ष दाहालले संसदीय अभ्यास र अनुभव आदान प्रदानका लागि मैत्री समूहले काम गर्ने बताए ।
गौतम बुद्ध र लुम्बिनीले २ देशबिचको सामाजिक सांस्कृतिक सम्बन्ध विस्तारमा विशिष्ट भूमिका खेलेको चर्चा गर्दै अध्यक्ष दाहालले लुम्बिनी–जापान सिधा हवाइ सेवा सुरु गर्नका लागि जापान सरकारले पहल गर्ने विश्वास व्यक्त गरे ।
नेपाली विद्यार्थी र कामदाहरूका लागि जापान आकर्षक गन्तव्य रहेको उल्लेख गर्दै दाहालले यसले २ देशबिच जनस्तरको सम्बन्ध सुदृढ बनाउन योगदान दिएको बताए ।
सो अवसरमा जापान नेपाल संसदीय मैत्री लिगका अध्यक्ष योसुके सुरुहाले नेपाल भ्रमणमा आउन पाउँदा निकै खुसी लागेको बताउँदै संसदीय सहकार्यले २ देशबिचको सम्बन्ध थप बलियो हुने बताए ।
नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको हालै जापानमा भएको भ्रमणको चर्चा गर्दै उनले भ्रमणले जापान–नेपाल सम्बन्ध थप मजबुत बनाउन विशेष भूमिका खेलेको बताए ।
अहिले जापान–काठमाण्डु नियमित हवाइ उडान भइरहेको उल्लेख गर्दै उनले लुम्बिनी–जापान हवाइ उडानबारे नेपालस्थित जापानी दूतावासमार्फत् छलफल गर्ने बताए । भेटमा नेपालस्थित जापानी राजदूत मयडा तोरुको पनि सहभागिता रहेको थियो ।




प्रतिक्रिया