काठमाण्डु – परराष्ट्र मन्त्री शिशिर खनाल र साउदी अरबका परराष्ट्र मन्त्री राजकुमार फैसल बिन फरहान अल साउदबिच बुधबार टेलिफोन वार्ता भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार कुराकानीका क्रममा साउदी परराष्ट्र मन्त्रीले मन्त्री खनाललाई बधाई दिँदै आपसी हितका क्षेत्रमा निकट रहेर काम गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए । मन्त्री खनालले साउदी समकक्षीको बधाई सन्देशप्रति आभार प्रकट गरे ।
परराष्ट्र मन्त्री खनालले मध्यपूर्व क्षेत्रमा जारी हालैको द्वन्द्वबिच साउदी अरबमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र हित सुनिश्चित गरिदिएकोमा नेपाल सरकारका तर्फबाट साउदी सरकारप्रति हार्दिक कृतज्ञता ज्ञापन गरे । उनले यस चुनौतीपूर्ण घडीमा मित्रराष्ट्र साउदी अरबप्रति नेपालको ऐक्यबद्धता समेत पुनरावृत्ति गरे ।
२ देशका परराष्ट्र मन्त्रीहरूबिच नेपाल र साउदी अरबबिचको लामो समयदेखिको द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल हुनुका साथै द्विपक्षीय र बहुपक्षीय मञ्चहरूमा सहकार्यलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धता व्यक्त भएको छ ।
आगामी वर्ष नेपाल र साउदी अरबबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्ष (स्वर्ण महोत्सव) मनाउने तयारी भइरहेका बेला दुवै मन्त्रीहरूले व्यापार, लगानी र आपसी हितका अन्य क्षेत्रमा सहकार्य बढाउने विषयमा संवाद गरेका थिए । सो क्रममा मन्त्री खनालले नेपालमा साउदी अरबको निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्ने विषयमा विशेष जोड दिएका मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया