सर्वदलीय बैठकको निष्कर्ष : संविधानमाथिको प्रहारविरुद्ध शीर्ष नेतृत्वले मिलेर प्रतिवाद गर्ने


काठमाण्डु – संविधानमाथि भइरहेको प्रहारविरुद्ध सबै दल एकजुट हुने निष्कर्षमा पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आयोजनामा आज मंगलबार बसेको सर्वदलीय बैठकले शान्ति प्रक्रियाका विविध विषयमा छलफल भएको माओवादी उपाध्यक्ष पम्फा भुसालले बताइन् ।

प्रधानमन्त्री प्रचण्डले १२ बुँदे समझदारी, शान्ति प्रक्रिया र संविधानका पक्षधरहरूसँग छलफल गरेको उपाध्यक्ष भुसालले बताइन् ।

‘प्रधानमन्त्रीज्यूले शान्ति सम्झौताका पक्षधर, संविधानका पक्षधर र संघीय लोकतान्त्रिक गणतन्त्रणका पक्षधरसँग छलफल गर्नुभएको हो । यस विषयमा व्यापक समीक्षा भएको छ,’ उनले भनिन् ।

पछिल्लो समय व्यवस्थामाथि नै प्रहार हुन खोजेको भन्दै त्यसविरुद्ध प्रमुख दलहरू एकजुट भएर अगाडि बढ्ने निष्कर्ष निकालिएको उनले बताइन् । ‘पानीको फोकाजस्तै देखिएका प्रहारहरूको शीर्ष नेतृत्वले मिलेर प्रतिवाद गर्ने प्रतिबद्धता भएको छ । अहिले व्यवस्थामाथि नै प्रहार गर्नेखालका गतिविधि भइरहेका छन्,’ उनले भनिन् ।

प्रधानमन्त्री प्रचण्डले छिट्टै अर्थतन्त्रमा देखिएको समस्या समाधान लागि बृहत् भेला आयोजना गर्ने उनले बताइन् । भेलाले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने उनको विश्वास छ ।

एमालेले सरकारले जनतालाई डेलिभरी दिन नसकेको भन्दै सचेत गराएको छ । एमाले सचेतक महेश बर्तौलाले प्रधानमन्त्री प्रचण्डले १२ बुँदे समझदारी र विद्यमान विषयवस्तुमा छलफल गर्न आफूहरूलाई बोलाएको बताए । बैठकमा सरकारले जनतालाई डेलिभरी दिन नसकेको, गृह प्रशासन मुकदर्शक बनेको, अर्थतन्त्र डामाडोल भएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई सचेत गराएको उनले बताए ।

संक्रमणकालीन न्याय टुंग्याउन एमाले तयार भएको र त्यसको आवश्यक पहलकदमी प्रधानमन्त्रीले लिनुपर्ने उनले बताए । ‘संक्रमणकाली न्याय टुंग्याउने विषयमा हामी सकारात्मक छौं । त्यसको पहलकदमी प्रधानमन्त्रीज्यूले लिनुपर्ने बताएका छन् । त्यसबाहेक अर्थतन्त्र र सरकारका काम कारबाहीका विषयमा सचेत गराएका छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement