संवैधानिक परिषद बैठकः अध्यक्ष ओली आक्रोशित रुपमा प्रस्तुत भएपछि सहमति जुट्न सकेन


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आव्हानमा लामो समयपछि बसेको संवैधानिक परिषद्को बैठकमा कुनै सहमति जुट्न सकेन ।

सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताको छलफलमा संवैधानिक परिषद्को बैठक बोलाउने सहमति जुटेको थियो ।

प्रधानमन्त्री प्रचण्डले बालकोटको सहमतिपछि आज बिहान संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । तर, प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउन बसेको परिषद्को बैठकमा कुनै सहमति जुट्न सकेन ।

आजको बैठकमा अध्यक्ष ओली आक्रोशित रुपमा प्रस्तुत भए । अध्यक्ष ओली आक्रोशितरुपमा प्रस्तुत भएपछि बैठकमा कुनै पनि सहमति जुट्न नसकेको हो । सत्ता गठबन्धनलाई संवैधानिक परिषदको बैठक बस्न मात्रै प्रमुख विपक्षी दलको नेता चाहिने भन्दै ओली आक्रोशित बनेका हुन् ।

ओलीले उक्त बैठकमा संसदीय समिति गठनलाई समेत प्राथमिकता राख्नुपर्ने अडान राखे । उनले संसदीय समितिहरु गठन नभएसम्म प्रधानन्यायाधीश सिफारिस गर्नु कुनै अर्थ नहुने दाबी गरेका हुन् ।  अध्यक्ष ओलीले त्यसकारण समितिका विषयमा पनि टुंगो लगाउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् ।

‘सत्ता गठबन्धनका नेताहरुलाई संवैधानिक परिषदको बैठक बस्न मात्रै प्रमुख विपक्षी दलको नेता चाहिदो रहेछ । अरुमा मतलब हुँदो रहेनछ । अहिले संवैधानिक परिषदबाट सिफारिस भएर गएपनि संसदीय सुनुवाइ विशेष समिति गठन नभएसम्म प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढ्ने होइन । समिति गठनका विषयहरु पहिले टुंग्याऔं, त्यसपछि संवैधानिक परिषदको बैठकमा विपक्षी दलको नेता बाधक बन्दैन ।’, अध्यक्ष ओलीले उक्त बैठकमा भनेका थिए ।

नेकपा एमालेले प्रतिनिधिसभामा प्रतिनिधित्वको अनुपातमा संसदीय समितिको नेतृत्व गर्न पाउनुपर्ने माग गरेको छ । तर, सत्ता गठबन्धन दलहरु नेकपा एमालेको मागमा सहमत छैनन् ।

आज सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री  ‘प्रचण्ड’, एमाले अध्यक्ष  ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना मगर र उपप्रधान एवं कानूनमन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement