पार्टी एकताकै दिन ऊर्जामन्त्री भेट्न चिनियाँ राजदुत सिंहदरबारमा


काठमाडौं– उर्जा,सिंचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुन र नेपाल भ्रमणमा रहेका चीनको सिचुवान प्रान्तका उपगर्भनर पेङ युसिङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा विहिवार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको थियो ।

भेटमा उर्जामन्त्री पुनले नयां सरकारको प्राथमिकता विकास र समृद्धी रहेको भन्दै त्यसका लागी नेपालमा चिनिया लगानी आवश्यक रहेको बताए । उनले नेपालमा लगानीको वातावरण रहेको भन्दै चिनिया लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण बनाईदिन आग्रह समेत गरे ।

मन्त्री पुनले चीनसंग नेपालले गत वर्ष नै विआरआईमा हस्ताक्षर गरिसकेको उल्लेख गर्दै आगामी दिनमा समेत दुई देशबीचको सम्बन्ध अझै मजबुत बन्ने विश्वास व्यक्त गरे । ‘हामी चीनले गरेको विकास र समृद्धिबाट लाभ लिन चाहन्छौ, विआरआईअन्र्तगत पनि कैयौ परियोजनामा हाम्रो सहकार्य हुदैंछ, यसले पनि आगामी दिनमा हाम्रो सम्बन्ध मजवुत बन्नेछ ।’ मन्त्री पुनले भने ।

भेटमा उनले हाल नेपालको १ हजार मेगावाट विजुली उत्पादन गर्ने क्षमता भएपनि उर्जामन्त्रालयले आगामी ५ वर्षमा ५ हजार र १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको बताए । माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री पुनले आगामी दिनमा जलविद्युत र सौर्य उर्जाको क्षेत्रमा चीनबाट सहयोग र लगानीको अपेक्षा रहेको बताए ।

भेटमा उपगभर्नर युसिङले चीनमा सिचुवान प्रान्त उर्जाको क्षेत्रमा निकै धनी रहेको भन्दै सहकार्य गर्न ईच्छुक रहेको बताए । उनले उर्जा क्षेत्रका साथै सडक निर्माणको क्षेत्रमा समेत सहकार्य गर्न तयार रहेको धारणा राखे । ‘हामी उर्जा र जलविद्युतका साथै निर्माण र पुर्ननिर्माणको क्षेत्रमा काम गर्न इच्छुक छौ, त्यसका लागी सिचुवान प्रान्तको एउटा कम्पनीले समेत भर्खरै नेपालमा सरकारको लगानी रहेको कम्पनीसंग सहकार्य सुरु गरेको छ ।’ उपगर्भनर युसिङले भने ।

उनले सिचुवानमा व्यापार र अध्ययनका लागी थुप्रै नेपालीहरु रहेको भन्दै सिचुवानमा बाणिज्य दुतावास खोलीदिन समेत आग्रह गरे । जवाफमा मन्त्री पुनले सिचुवानसंग व्यापार र शिक्षाको साथै हवाई कनेक्टिभीटीले समेत निकटता बढेको भन्दै आगामी दिनमा समेत सहकार्य गर्नुपर्नेमा जोड दिए ।

उर्जामन्त्री पुन र चिनियां राजदूतबीच भेट
उर्जा,सिंचाई तथा जलस्रोतमन्त्री वर्षमान पुन र चिनिया राजदूत यु होङबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षिय हितका साथै उर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो । भेटमा मन्त्री पुनले नयां सरकारले चीनबाट लगानी र सहयोगको अपेक्षा राखेको बताए ।

राजदूत होङले माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकिकरण हुन लागेको समाचार सुनेको भन्दै त्यसबाट देश विकास र स्थायीत्वमा सहयोग पुग्ने अपेक्षा राखेको धारणा व्यक्त गरीन् । उनले उर्जा र जलविद्युतको क्षेत्रमा सहकार्य गर्न चीन सरकार इच्छुक बतार्इन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement