वाम गठबन्धन र फोरमबीच दाेस्राे बैठकमा पनि यसकारण जुटेन सहमति


काठमाडौं– सरकार विस्तार र संविधान संशोधनका विषयमा निरन्तर सहमतिको प्रयास गर्दै आएका वाम गठबन्धन र संघीय समाजवादी फोरमबीचको आइतबारको बैठक पनि बिना निष्कर्ष सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा बिहान र सांसदहरुको शपथग्रहण पछि नयाँबानेश्वरमा दुई पटक छलफल भएको थियो।

वाम गठबन्धन र फोरमबीच मन्त्रालय भागबण्डामा सहमति जुट्न नसक्दा बैठक बिना निस्कर्ष टुंगिएको हो। फोरमले तीन मन्त्रालयसहित प्रतिनिधिसभाको उपसभामुख मागेपनि वाम गठबन्धनले दुई मन्त्रालयसहित उपसभामुख दिने पक्षमा छ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरमका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो। प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार सोमबार फेरि छलफल गरिने छ।

यसअघि वाम गठबन्धन र फोरमबीच शनिबार बैठक हुने भनिएकोमा फोरमका अध्यक्ष उपेन्द्र यादवलगयत अन्य नेताहरू होली पर्व मनाउन गृहजिल्ला गएका र प्लेन डिले भएका कारण राजधानी आउन सम्भव नभएका कारण बैठक आइतबारका लागि सारिएको थियो। फोरमबीच सहमति नहुँदा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस
Advertisement