मेगा बैंकले थाल्यो वीच्याट-पे भुक्तानी सेवा


काठमाण्डु – मेगा बैंक नेपाल लिमिटेडले छिमेकी मुलक चीनको प्रख्यात ‘वीच्याट–पे’ सँग भुक्तानी सेवाका लागि साझेदारी गरेको छ । यो सम्झौतापछि ‘वीच्याट–पे’ मोबाइल वालेट प्रयोगकर्ताहरुले मेगा बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएका क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने ब्यवस्था मिलाइएको छ ।

नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरु तथा नेपालवाट सामान आयात गर्ने चिनियाँ व्यापारीहरुले अब बिभिन्न सामाग्री तथा सेवाको लागि ‘वीच्याट–पे’ मार्फत रकम भुक्तानी गर्न सक्नेछन् । नेपालमा वर्षेनी लाखौं चिनियाँ पर्यटकहरु आउने गरेका छन् ।

चीनमा निकै लोकप्रिय रहेका ‘वीच्याट–पे’ मार्फत नेपालमा रकम भुक्तानी गर्न पाउँदा चिनियाँ पर्यटकहरु लाभान्वित हुनेछन् भने राष्ट्रलाई विदेशी मुद्रा आर्जनमा सघाउ पुग्ने मेगा बैंकको विश्वास रहेको छ ।

डिजिटल बैंकिङ सेवालाई प्राथमिकतामा राख्दै आएको मेगा बैंकले भुक्तानी सेवालाई सहज र प्रभावकारी बनाउन आगामी दिनमा पनि यस्ता साझेदारीलाई प्राथमिकता दिने योजना बनाएको बैंकका प्रमुख बजार अधिकृत (सीएमओ) मनोज खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement