अब जहाँ बसेर पनि मेगा बैंकको खाता खोल्न सकिने, यस्ताे छ प्रक्रिया


काठमाडौं–मेगा बैंक नेपाल लिमिटेडले स्वदेश तथा विदेशमा रहेका ग्राहकहरुलाई इन्टरनेटबाटै खाता खोल्न सकिने सुविधा ल्याएको छ।

ग्राहकहरुलाई नवीनतम सुविधाहरु थप्दै जाने क्रममा मेगा बैंकले स्वदेशी तथा विदेशी नागरिकहरुलाई इन्टरनेटमार्फत खाता खोल्न सकिने अत्याधुनिक अनलाइन सुविधा ल्याएको हो। यो सुविधापछि अब नयाँ ग्राहकहरुले कार्यालयमै आएर खाता खोल्नुपर्ने बाध्यताको अन्त्य भएको  मेगा बैंकले जनाएकाे छ।

‘मेगा बैंकमा खाता खोल्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन खाता खोल्ने सुविधा ल्याएका हौँ, अब ग्राहकहरुले इन्टरनेट सुविधा भएको जुनसुकै ठाउँमा बसेर पनि मेगा बैंकको खाता खोल्न सक्नेछन् । यसले ग्राहकहरुको समय बचत हुने हाम्रो विश्वास छ’, मेगा बैंककी निमित्त सिइओ रविना देशराज श्रेष्ठले भने, ‘गाडीमा यात्रा गरिरहँदा, एयरपोर्ट, निजी कार्यालय वा घरमै बसेर पनि ग्राहकहरुले हाम्रो यो सुविधा लिन सक्नुहुनेछ, तर त्यसका लागि इन्टरनेट चाँहि चाहिन्छ । आशा छ, हाम्रो यो अत्याधुनिक सुविधा ग्राहकहरुले मन पराइदिनुहुनेछ ।’

खाता खोल्ने प्रक्रिया

खाता खोल्न चाहने ग्राहकहरुले मेगा बैंक नेपाल लिमिटेडको आधिकारिक वेभसाइट ‘डब्लूडब्लूडब्लू डट मेगा बैंक नेपाल डटकम–www.megabanknepal.com मा जानुपर्नेछ। त्यहाँ अनलाइन खाता खोल्नका लागि एउटा लिंक भेटिन्छ । त्यसमा सम्पूर्ण विवरणहरु भरिसकेपछि नागरिकता वा पासपोर्ट र आफ्नो फोटो अपलोड गर्नुपर्छ ।

आफ्ना सम्पूर्ण विवरणहरु भरिसकेपछि ग्राहकको इमेलमा भेरिफिकेशन लिंक जान्छ । ग्राहकले त्यसलाई भेरीफाइ गरेपछि सम्पूर्ण विवरणहरु बैंकमा आइपुग्छ । बैंकका कर्मचारीहरुले ग्राहकले भरेका सम्पूर्ण विवरण र कागजपत्रको रुजु गरेर खाता स्वीकृति प्रक्रिया अगाडि बढाउँछन् ।

आफ्नो दस्तखत र कागजपत्रको भेरिफिकेशनका लागि ग्राहकहरु एकपटक बैंकमा आउनुपर्नेछ । त्यसपछि छिनभरमै खाता खुल्नेछ । अनलाइन खाता खोल्नका लागि सजिलो होस् भनेर जानकारीमुलक भिडियो समेत वेभसाइटमै प्राप्त गर्न सकिनेछ ।

मेगा बैंकका देशभरिका ९१ वटै शाखाबाट यो खाता खोल्ने प्रक्रियाबारे जानकारी लिन सकिन्छ । मेगा बैंकले आफूलाई पायक पर्ने शाखाहरुमा सम्पर्क गर्न ग्राहकहरुलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement