ह्यारी र मेगनको अन्तर्वार्ताबारे के भन्छ राजदरबार ?


एजेन्सी – बेलायती शाही परिवार ड्युक अफ ससेक्स प्रिन्स ह्यारी र उनकी पत्नी डचिस अफ ससिक्स मेगन मार्कललले दिएको अन्तर्वार्तापछि बेलायती शाही परिवारले पहिलोपटक प्रतिक्रिया जनाएको छ ।

अमेरिकी टेलिभिजन प्रस्तोता ओप्रा विन्फ्रीसँग राजकुमार ह्यारी र मेगनले दिएको अन्तर्वार्तामा उठाइएका जातिय प्रकृतिका प्रसङ्ग निकै ‘चिन्ताजनक’ भएको भन्दै तिनलाई गम्भीरतापूर्वक लिइने राजदरबारले जानकारी दिएको छ ।

राजदरबारले पछिल्ला केही वर्ष ह्यारी र मेगनले चुनौतीपूर्ण समय बिताएको थाहा पाउँदा पुरै शाही परिवार दुखित् बनेको महारानी एलिजावेथको भनाइ उदृत गर्दै जानकारुी दिएको छ ।

‘खासगरी दुवैले उठाएका मुद्दामध्ये रंगभेदसँग जोडिएको विषय चिन्ताजनक छ । शाही परिवारले यो विषयलाई गम्भीर रुपमा लिएको छ र निजी रुपमा यो विषयमा छलफल गरिनेछ’ राजदरबारको बयानमा भनिएको छ ।

ओप्रासँगको अन्तर्वार्तामा मेगनले दरबार भित्रै आफ्नो छोरा चार्ल्सको छालाको रंग कति कालो हुन्छ भनेर चर्चा हुने गरेको बताएकी थिइन् ।

ह्यारी र मेगनको अन्तर्वार्ताको विषयमा धेरै मानिसहरुले आआफ्ना प्रतिक्रिया जनाएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनकी प्रवक्ताले मेगनले साहसका साथ मानसिक समस्या उठाएको भन्दै उनको प्रशंसा गरेकी छिन् ।

सन् २०२० को जनवरीमा ह्यारीले आफूहरु शाही जिम्मेवारी छोड्न लागेको घोषणा गरेका थिए । उनले इतिहासले आफूलाई दोहोराइरहेको चिन्ताले आफुले शाही जिम्मेवारी छोडेको बताएका थिए ।

क्यालिफोर्नियामा बसिरहेका उनीहरुले हालै आफूहरु शाही परिवारको सक्रिय सदस्यको रुपमा बेलायत नफर्कने घोषणा समेत गरिसेका छन् ।

उनीहरुले राजदरबार छोड्नुको कारण मिडियाको स्पटलाइट भएको बताएका छन् । यो कुरा पत्यार लाग्दो छैन । किनभने मानिसहरुले मेगन र ह्यारीलाई बेलायतमा हुँदा जति देखिरहेका थिए, त्यो भन्दा बढी अमेरिकामा हुँदा देखिरहेका छन् ।

राजकुमारी डायनाको मृत्युपछि प्रिन्स ह्यारीमा मिडियाप्रति नकारात्मक सोच विकास भएको हो । राजकुमारी डायनाको मृत्यु सन् १९९७ मा अगस्ट ३१ मा पेरिसमा एक सडक दुर्घटनामा भएको थियो । त्यतिबेला राजकुमार ह्यारी १२ वर्षका थिए ।

डायनाका ड्राइभर हेनरी पालले रक्सी पिइरहेका थिए र पत्रकार पपाराजीले मोटरसाइकलमा बसेर कारको पिछा गरिरहेका थिए । यस विषयमा गरिएको अनुसन्धानपश्चात् डायनाको मृत्युको कारण ड्राइभर तथा पपाराजीद्वारा गरिएको घनघोर लापरवाही जिम्मेवार भएको बताइएको थियो ।

ह्यारीले एक अन्तर्वार्तामा भनेका थिए, ‘मलाई लाग्छ कि यो कुरा स्विकार गर्न सबैभन्दा बढी मुश्किल छ । जसले उनको सुरुङमा पिछा गरे उनीहरुले नै कारको पछाडि सीटमा उनको मृत्यु भएको तस्बिर खिचे ।’

मानिसहरुले अब प्रिन्स ह्यारी र मेगनमाथि प्रश्न उठाइरहेका छन् । जसले एक शान्त जीवनको चाहनामा राजदरबार त्यागेका थिए ।

‘मानिसहरुले सोधिरहेका छन् कि अब उनीहरुले मिडियामा किन अन्तरवार्ता दिइरहेका छन्, आफ्ना छोराबारे किन जानकारी दिइरहेका छन् ? ।’

ह्यारीले उनकी आमालाई पछ्याए जसरी नै पपाराजीले मेगनको पीछा गरेको बताएका छन् । राजकुमार ह्यारी निश्चित रुपमा नै यस्ता कहानीबाट वाक्क भइसकेका छन्, जसले मेगनको आलोचना गर्ने गर्छन् । उनी यो चाहान्छन कि– मिडियाका कारण इतिहास नदोहोरियोस् ।

प्रतिक्रिया दिनुहोस
Advertisement