मेलम्चीमा बाढीः आसपासका बस्ती बगायो, सशस्त्र प्रहरीको क्याम्प विस्थापित


काठमाण्डु – मेलम्ची नदीमा भीषण बाढी आएको छ । लगातार पानी परेका कारण आएको बाढी र पहिरोले आयोजना क्षेत्रका बस्तीहरु बगाएको छ । साँझ सात बजे मेलम्ची नदीमा बाढी आएको र त्यसले आयोजनामा केही क्षति गरेको आयोजनाका ईन्जिनियर राजेन्द्र पन्तले बताए ।

उनका अनुसार लेबरहरू बस्ने क्याम्पमा क्षति पुगेको जानकारी आएको छ । तर, के कसो भन्नेबारे जानकारी आएको छैन । आज बेलुका साढे ६ बजे मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटरमाथि हेलम्बु १ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको थियो । बाढी र पहिरोले हेलम्बुको तिम्बु बजार सिंगै बगाएको छ । यसैगरी चनौते भन्ने बजार पनि डुबानमा परेको छ । कम्तिमा ७ जना स्थानीवासी वेपत्ता भएका छन् ।

सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी राजन अधिकारीले मेलम्ची नदीमा बाढी आएको तर क्षतिको विवरण आइनसकेको जानकारी दिए । उनले भने, ‘त्यहाँ हताहती भएको अनुमान गरिएको छ । रातिको समय र विद्यूत सेवा पनि अवरुद्ध भएकाले क्षतिको आँकलन हुन सकेको छैन ।’

बाढी आएसँगै मेलम्चीमा रहेको सशस्त्र प्रहरीको क्याम्प विस्थापित भएको उनले बताए । सो क्षेत्रमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा जुटेको एसपी अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement