मेलम्चीमा यसरी उर्लियो लेदोसहितको बाढी (फोटोफिचर)

मेलम्चीमा यसरी उर्लियो लेदोसहितको बाढी (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ । ती मध्ये नौ पक्की र आठ कच्ची रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गएरातिको बाढीले बगाएको हो । ती घरटहरा खाली थिए । बाढीले चनौटेको रातो पुल बगाएको छ ।

स्थानीयवासी हस्त पण्डितले दिएको जानकारी अनुसार वाढीले आज विहान पुल बगाएको हो । मेलम्ची– ७ र ८, पाँचपोखरी– १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एकमात्र विकल्पका रुपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यो भेगमा सवारीआवतजावत बन्द छ ।

त्यस्तै ग्यालथुममा रहेको झोलुङ्गे पुल पनि वाढीले बगाएको छ । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ । मेलम्ची बजारदेखिमाथि पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले बताए ।

उनका अनुसार खोलामा लेदोसहितको बाढी आएको र बाढी घट्ने, बढ्ने भइरहेको छ । हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा मेलम्चीबाट हेलम्बु सवारीसाधन जान नसकेको मेलम्ची नगर प्रमुख डम्बर अर्यालले जानकारी दिएका छन् ।