मेलम्ची सुरुङको निरीक्षण थालिने


काठमाण्डु –  काठमाण्डु उपत्यकावासीले असार र साउन महिनामा मेलम्चीको पानी नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिद्वारा असार १ गतेदेखि मेलम्चीको सुरुङ निरीक्षण थालिने भएकाले मेलम्चीको पानी आपूर्ति बन्द हुने भएको हो ।

सुरुङमा तीन महिना पानी बगिसकेपछि पुनः परीक्षण गर्नुपर्ने भएकाले पानी बन्द गरिने भएको हो । सुरुङमा पानी सुकाएपछि विज्ञहरूले सुरुङको निरीक्षण र परीक्षण गर्नेछन् । विज्ञहरूको निरीक्षण प्रतिवेदनका आधारमा थप काम गर्नुपर्ने पनि हुनसक्ने समितिका सूचना अधिकृत राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । उनले भने, “असार १ गतेदेखि सुरुङमा पानी सुकाएर सबै निरीक्षण गर्दैछौँ । यो पूर्वकार्यतालिका बमोजिम नै हो।”

उहाँका अनुसार सुरुङ परीक्षण गर्न करिब १५ दिन लाग्ने छ । निरीक्षणपछि सबै कुरा ठीक रहे फेरि सुरुङमा पानी भर्न १५ दिन लाग्ने छ । सामान्य अवस्थामा ४५ दिनमा सबै काम पूरा हुनेछ । विज्ञहरूले समस्या देखे भने वा थप सुझाव दिए भने अरू काम गर्नुपर्ने पनि हुन सक्छ नत्र सामान्य अवस्थामा करिब ४५ दिनमा सकिने छ ।

वर्षात्मा पानीको अभाव कम हुने भएकाले असार र साउनमा सुरुङ परीक्षणका लागि कार्यतालिका बनाइएको पन्तले जानकारी दिए । मेलम्चीको पानी नआएको यो अवधिमा काठमाण्डु उपत्यकामा पानीको अभाव हुन नदिन बागमती नदीको पानी प्रशोधन गरेर दैनिक चार करोड लिटर उत्पादन गर्ने तयारी भइरहेको समितिले जनाएको छ।

दोस्रो आयोजनाअन्तर्गत याङ्री र लार्के खोलाको पानी पनि मेलम्चीकै सुरुङबाट काठमाण्डु उपत्यका भित्रयाउन थप पूर्वाधार निर्माणका काम भइरहेका छन् । हाल मेलम्चीदेखि याङ्री खोलाको हेडवक्र्स निर्माण स्थलसम्मको सडक निर्माण भइरहेको छ । २५ किलोमिटर यो सडकमध्ये १५ किलोमिटर पहिल्यै ट्र्याक खोलिएको थियो भने अन्य काम अहिले भइरहेको पन्तले जानकारी दिए ।-यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement