मेस्सी युग सकिँदै गर्दा कसले सम्हाल्ला अर्जेन्टिनाको नम्बर १० ?

मेस्सी युग सकिँदै गर्दा कसले सम्हाल्ला अर्जेन्टिनाको नम्बर १० ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बार्सिलोनाका सर्वकालीन महान् खेलाडी मेस्सीको उत्तराधिकारी खोज्नु अर्जेन्टिनाका लागि कठिन चुनौती हुनेछ। तर सम्भावित दाबेदार अहिलेबाटै देखिएका छन्।

मंगलबार राति रिभर प्लेटको प्रसिद्ध एस्टाडियो मोनुमेन्टलमा लियोनल मेस्सीले अर्जेन्टिनाका लागि आफ्नो २०८औँ तथा अन्तिम खेल खेल्दैछन्। मेस्सीको प्रायोजक एडिडासले ३९ वर्षीय स्टारका लागि विशेष बिदाइ जर्सी तयार पारेको छ। त्यसमा उनको नाम र नम्बर सुनौलो रंगमा अंकित गरिएको छ।

अन्तर्राष्ट्रिय फुटबलमा झन्डै २१ वर्षसम्म अर्जेन्टिनाका लागि मेस्सीले दिएको योगदानको सम्मानस्वरूप तयार पारिएको यो जर्सी उनका लागि विशेष र यादगार हुनेछ।

स्टेडियममा पक्कै पनि भावुक वातावरण बन्ने निश्चित छ। अर्जेन्टिनाका लागि सबैभन्दा खेल्ने खेलाडीसँगै सर्वाधिक १२५ गोल गरेका मेस्सीले आफ्नो अन्तर्राष्ट्रिय करिअरलाई देशलाई तेस्रो विश्वकप उपाधि र लगातार दुई कोपा अमेरिका जिताउने कप्तानका रूपमा टुंग्याउँदैछन्।

विश्वकपको पछिल्लो संस्करणमा पनि उनी दोस्रो विश्वकप उपाधिको निकै नजिक पुगेका थिए। स्पेनसँगको फाइनलमा अर्जेन्टिना पराजित हुनुअघि मेस्सीले आठ गोल गरेका थिए।

प्रतियोगितापछि उनले आफ्ना सर्वोत्तम प्रिय बुवा बुवा होर्हे (जर्ज) होरासियो मेस्सीलाई गुमाए ।जसको ६८ वर्षको उमेरमा २०२६ अगस्टमा निधन भयो। त्यसपछि ‘अब आफूले दिन बाँकी केही छैन’ भन्ने महसुस गर्दै उनले अन्ततः अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय गरे।

अर्जेन्टिनामा मेस्सीको स्थान कसैले लिन सक्दैन। धेरैका लागि उनी फुटबल इतिहासकै महान् खेलाडी हुन्। उनको जस्तो प्राकृतिक प्रतिभा भएको खेलाडी फेरि आउला भन्ने पनि निश्चित छैन।

तर अर्जेन्टिनाको १० नम्बर जर्सी भने कसै न कसैले लगाउनु पर्नेछ। मेस्सीबिनाको अर्जेन्टिनालाई विश्व फुटबलको शीर्ष शक्तिमै कायम राख्ने चुनौती पनि अब सुरू भएको छ।

१० नम्बर जर्सीको भार

मेस्सी र डिएगो म्याराडोनाको विरासतका कारण अर्जेन्टिनाको १० नम्बर जर्सी लगाउने खेलाडीमाथि सुरूदेखि नै ठूलो दबाब हुनेछ।

म्याराडोनाले १९९४ मा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि पनि अर्जेन्टिनाले यस्तै संक्रमणकाल भोगेको थियो। त्यसपछि टोलीले विभिन्न रणनीति प्रयोग गर्‍यो तर अपेक्षाअनुसार सफलता पाएन। सन् १९९८ को विश्वकपमा क्वार्टरफाइनलबाट बाहिरिएको अर्जेन्टिना चार वर्षपछि समूह चरणमै रोकियो।

लगातार तीन कोपा अमेरिकामा पनि अर्जेन्टिना क्वार्टरफाइनलबाट बाहिरियो। सन् २००४ मा दोस्रो दर्जाको ब्राजिलसँग पेनाल्टीमा फाइनल गुमायो।

पाब्लो आइमार, एरियल ओर्टेगा र जुआन रोमन रिकेल्मेजस्ता खेलाडीले म्याराडोनाको १० नम्बर जर्सी लगाए। उनीहरू उत्कृष्ट खेलाडी थिए, तर जर्सीको भार असाधारण थियो।

म्याराडोना अर्जेन्टिनाका समर्थकका लागि लगभग भगवानसरह थिए। सन् १९८६ को विश्वकप जिताएका उनी जादुयी र सिर्जनशील खेलाडी थिए। त्यसैले उनको उत्तराधिकारी असम्भवजस्तै लाग्थ्यो। त्यसपछि २००५ मा मेस्सीले अर्जेन्टिनाका लागि डेब्यु गरे।

रिकेल्मेले सुरूमा १० नम्बर लगाइरहेका थिए। उनले मेस्सीसँगै ओलम्पिक स्वर्ण पदक जिते र सन् २००९ मा संन्यास लिएपछि जर्सी मेस्सीलाई हस्तान्तरण गरियो।

मेस्सीलाई म्याराडोनाको विरासतको योग्य उत्तराधिकारीका रूपमा स्वीकार गर्न अर्जेन्टिनाका समर्थकलाई पनि समय लाग्यो। तर शान्त स्वभावका प्लेमेकरबाट उनी शक्तिशाली नेतृत्वकर्ता बने।

अन्ततः मेस्सीले १० नम्बरलाई आफ्नै बनाइदिए। आश्चर्यजनक रूपमा उनी अर्जेन्टिनामा म्याराडोनाभन्दा पनि लोकप्रिय बने।

के इतिहास दोहोरिन्छ?

लियोनल स्कालोनीको वर्तमान टोलीमा तत्कालै मेस्सीको जर्सीका लागि निर्विवाद उत्तराधिकारी देखिँदैन। अर्जेन्टिनाले फेरि एउटा संक्रमणकाल भोग्ने सम्भावना छ।

विकल्प : जुलियन अल्भारेज

स्कालोनीका लागि सबैभन्दा सहज विकल्प जुलियन अल्भारेज हुन सक्छन्। उनले यसअघि नै मेस्सीको भूमिकामा खेलिसकेका छन्।

२०२६ को विश्वकप छनोटमा मेस्सीले केवल १० खेलमा सुरुआती ११ मा स्थान पाउँदा अल्भारेजले नियमित रूपमा उनको भूमिकालाई सम्हालेका थिए।

उनले छनोट अभियानमा सात गोलको योगदान दिए। ब्राजिलविरुद्ध अर्जेन्टिनाको ४–१ को शानदार जितमा उनको प्रदर्शन विशेष थियो। चौथो मिनेटमै गोल गरेका अल्भारेजले विपक्षी डिफेन्समाथि लगातार दबाब बनाए र आफ्नो दौडबाट रक्षापंक्तिलाई संकटमा पारे।

उच्चस्तरको अनुभवका हिसाबले पनि उनी सबैभन्दा अगाडि छन्। इङ्लिस क्लब म्यानचेस्टर सिटीको ट्रेबल विजेता टोलीका महत्वपूर्ण सदस्य रहेका अल्भारेज स्पेन पुगेपछि एट्लेटिको मड्रिडका मुख्य खेलाडी छन्।

एट्लेटिकोका लागि ११० खेलमा ६७ गोल योगदान गरिसकेका २६ वर्षीय अल्भारेज आफ्नो करिअरको उत्कर्षतर्फ छन्।

तर उनको खेलशैली मेस्सीजस्तो सिर्जनात्मक छैन। उनी बढी स्ट्राइकर प्रकृतिका खेलाडी हुन्। ६१ अन्तर्राष्ट्रिय खेलमा १६ गोलको उनको रेकर्ड पनि मेस्सीको स्तरसँग तुलना गर्न पर्याप्त छैन।

त्यसैले उनी सबैभन्दा सुरक्षित विकल्प भए पनि मेस्सीको प्रत्यक्ष विकल्प हुन सक्दैनन्।

मिल्ने शैली : निको पाज

अर्जेन्टिनासँग मेस्सीसँग शैली मिल्ने उत्कृष्ट सम्भावना बोकेका खेलाडी निको पाज हुन्।

२२ वर्षीय पाजले अर्जेन्टिनाका लागि १३ खेलमा तीन गोल गरेका छन्। विश्वकपमा उनले पर्याप्त अवसर पाएनन्। उनको खेलशैली मेस्सीसँग निकै मिल्दोजुल्दो भएकाले स्वाभाविक उत्तराधिकारीका रूपमा हेरिन्छन्।

बायाँ खुट्टाका प्राविधिक रूपमा उत्कृष्ट नम्बर १० पाजले खेललाई एकै क्षणमा परिवर्तन गर्न सक्छन्।

इटालीको कोमोमा खेलिरहेका उनले युरोपको सबैभन्दा प्रतिष्ठित क्लब प्रतियोगिता च्याम्पियन्स लिगको पहिलो अभियानमै आरबी लाइपजिगविरुद्ध ४–१ को जितमा दुई असिस्ट गरेका थिए।

उनको पास सफलता दर ९५ प्रतिशत थियो भने चार ड्रिबल सफल र १० ग्राउन्ड डुअल जितेका थिए।

कोमोको सफलतामा पाज महत्वपूर्ण खेलाडी बनेका छन्। क्लबका प्रशिक्षक सेस्क फाब्रेगासले उनको साहस, दृष्टि र महत्वाकांक्षाको प्रशंसा गरेका छन्।

मेस्सी स्वयंले पनि पाजको खेल बुझ्ने क्षमता र उनको सोचको प्रशंसा गरेका छन्।

पाज मेस्सीजस्तो गोल गर्ने मुख्य खेलाडी नहुन सक्छन्। तर त्यसलाई कमजोरीका रूपमा लिनुपर्दैन। उनी अर्जेन्टिनालाई एउटै खेलाडीमा निर्भर रहने टोलीबाट अझ सन्तुलित आक्रमणतर्फ लैजान सक्ने सिर्जनात्मक खेलाडी बन्न सक्छन्।

वाइल्डकार्ड : फ्रान्को मास्टान्टुओनो

अर्जेन्टिनासँग अर्को रोमाञ्चक विकल्प फ्रान्को मास्टान्टुओनो पनि छन्।

१९ वर्षीय मास्टान्टुओनो रिभर प्लेटको एकेडेमीबाट आएका प्रतिभा हुन्। गत गर्मीमा ४५ मिलियन युरोमा रियल मड्रिड पुगेका उनले युरोपमा पहिलो सिजन अपेक्षाअनुसार खेल्न पाएनन्।

तर अगस्टमा फियोरेन्टिनामा लोनमा गएपछि उनको प्रदर्शनमा सुधार आएको छ।

सेप्टेम्बर ११ मा भेनेजियाविरुद्ध फियोरेन्टिनाको ४–२ को जितमा उनले ह्याट्रिक गरे। तीनमध्ये दुई गोल पेनाल्टी क्षेत्रबाहिरबाट उत्कृष्ट प्रहारमार्फत गरेका थिए।

मेस्सीजस्तै उनी पनि दायाँ विङ्गबाट खेल सुरु गरेर भित्रतिर आउने, सहकर्मीसँग संयोजन गर्ने र गोलको अवसर खोज्ने खेलाडी हुन्।

उनको ड्रिब्लिङ क्षमता र साँघुरो क्षेत्रमा बल नियन्त्रण गर्ने कौशल उत्कृष्ट छ।

मास्टान्टुओनोले अर्जेन्टिनाका लागि १० नम्बर जर्सी लगाइसकेका छन्। इक्वेडरविरुद्धको विश्वकप छनोट खेलमा उनले म्याराडोनाको सबैभन्दा कम उमेरमा अर्जेन्टिनाको १० नम्बर लगाउने खेलाडीको कीर्तिमानसमेत तोडे।

मेस्सीको युवा अवस्थाको जस्तो गति उनीसँग नहुन सक्छ। तर चपलता, संयोजन र आत्मविश्वास उनको बलियो पक्ष हो।

सम्भावनाको हिसाबले भने स्कालोनीका लागि उनी सबैभन्दा रोमाञ्चक विकल्प देखिन्छन्।

बाहिरी दाबेदार : थियागो अल्माडा

थियागो अल्माडा पनि १० नम्बरका लागि बाहिरी दाबेदार हुन्।

इक्वेडरविरुद्धको खेलमा मास्टान्टुओनोभन्दा अघि अल्माडालाई १० नम्बर दिने तयारी थियो। तर अन्तिम समयमा चोटका कारण उनी खेल्न सकेनन्।

२५ वर्षीय अल्माडा स्कालोनीका पुराना विश्वासपात्र हुन्। कतार विश्वकप जित्ने अर्जेन्टिनाको टोलीका सदस्य रहेका उनले राष्ट्रिय टोलीबाट २५ खेल खेलिसकेका छन्।

उनी आक्रमणकारी मिडफिल्डर, नम्बर ८ वा विंगरका रूपमा खेल्न सक्छन्।

तर युरोपमा उनको प्रदर्शन अपेक्षाअनुसार सफल हुन सकेन। एट्लेटिको मड्रिडमा उनले २७ ला लिगा खेलमा केवल तीन गोल गरे।

स्पेनमा असफल भएपछि उनी रिभर प्लेट फर्किएका छन्। त्यहाँ उनले सुरुआती पाँच खेलमै दुई गोल गरेका छन्।

रिभर प्लेटमा पुनः आफ्नो उत्कृष्ट लय भेट्टाउन सके अल्माडा राष्ट्रिय टोलीमा फेरि महत्वपूर्ण भूमिका पाउन सक्छन्।

युगको अन्त्य

अर्जेन्टिनामा मेस्सीपछि आउने खेलाडीले मेस्सीको ठाउँ लिनुपर्ने होइन, मेस्सीपछि अर्जेन्टिनाको नयाँ शैली निर्माण गर्नुपर्नेछ।

मेस्सीको वास्तविक उत्तराधिकारी भेटिने सम्भावना अत्यन्त न्यून छ। उनी फुटबलका सामान्य नियम र सीमाभन्दा बाहिरको प्रतिभा थिए।

त्यसैले १० नम्बर जर्सी हस्तान्तरणलाई मात्र ‘मेस्सीको उत्तराधिकारी चयन’का रूपमा हेर्नु उचित हुँदैन।

अर्जेन्टिनाले विकसित हुनुपर्नेछ। मेस्सीले सम्हालेको प्रभाव धेरै खेलाडीले बाँड्नुपर्नेछ।

अल्भारेज अग्रपंक्तिमा, पाज पछाडि र मास्टान्टुओनो दायाँतर्फ खेल्ने हो भने १० नम्बर कसले लगायो भन्ने कुरा त्यति निर्णायक नहुन सक्छ। यी तीन खेलाडीले एकअर्कालाई उत्कृष्ट रूपमा पूरक बनाउन सक्छन्।

मिडफिल्डमा एन्जो फर्नान्डेज र एलेक्सिस म्याक एलिस्टरले साथ दिनेछन्। क्रिस्टियन रोमेरो नयाँ कप्तान बन्ने सम्भावना छ । उता लिसान्ड्रो मार्टिनेजले रक्षापंक्तिमा साथ दिनेछन्। लाउटारो मार्टिनेज पनि अग्रपंक्तिमा स्थानका लागि प्रतिस्पर्धामा हुनेछन्।

तर अर्जेन्टिनाको संक्रमण यतिमै सकिँदैन।

निकोलास ओटामेन्डीले पनि विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन्। एमिलियानो मार्टिनेज, लिएन्ड्रो परेडेस र निकोलास टाग्लियाफिकोले पनि निकट भविष्यमा राष्ट्रिय टोली छाड्न सक्छन्।

रोड्रिगो डी पाउल र जियोभानी लो सेल्सो पनि ३० वर्ष पार गरिसकेका छन्।

त्यसमाथि स्कालोनीको सम्झौता डिसेम्बरमा सकिँदैछ। उनले सम्झौता नवीकरणका लागि खुला रहेको संकेत गरे पनि अर्जेन्टिनाको राष्ट्रिय टोली नयाँ चरणमा प्रवेश गर्दा अनेक अनिश्चितता कायमै छ।

मेस्सीको युग सकिएको छ। अब अर्जेन्टिनाको चुनौती एउटा नयाँ नम्बर १० खोज्नु मात्रै होइन, मेस्सीबिनाको नयाँ अर्जेन्टिना निर्माण गर्नु हो।