मिथिला क्षेत्रमा देवी प्रतिमा विसर्जन गरिँदै


महोत्तरी – महोत्तरी लगायतका मिथिला क्षेत्रमा आज सोमबार देवी प्रतिमा विसर्जन गरिँदैछ । शारदीय नवरात्रका अवसरमा निर्माण गरी स्थापित गरिएका देवी दुर्गाका प्रतिमा देवी पूजन सम्पन्न भएसँगै आज विजया दशमीका दिन पवित्र जलाशयमा विसर्जन गरिन्छ ।

महोत्तरीको जलेश्वरस्थित अति प्राचीन भार्गव, पुरन्दर सर (तलाउ) मा आज बिहानैदेखि ठाउँठाउँमा निर्मित देवी प्रतिमा गहिरो जलाशयमा विसर्जन गरिँदै छन् । त्यसैगरी रातु, ओक्सी, बिग्ही, मरहा र बाँकेलगायतका नदीमा पनि प्रतिमा विसर्जन गर्नेहरुको समूह बिहानैदेखि देखिएको छ ।

पर्वका अवसरमा निधारमा टीका लगाउने परम्परा नभएको मैथिल संस्कृतिमा देवी प्रतिमास्थल र घरघरका दशैँ घरमा राखिएको जमरा भने प्रसादस्वरुप शिरमा सिउरिने गरिन्छ । माटो मुछेर नयाँ स्थापित गरिएका देवी प्रतिमा बाहेकका धातु र काठका मूर्ति रहेका शक्तिपीठ र मन्दिरमा भने पूजा विसर्जन गरेर मुख्य पुजारीले जमरा र प्रसाद दिने मैथिल परम्परा छ ।

मिथिलामा विजया दशमीका दिन दुईवटा पौराणिक परम्परा मानिदै आइएका छन् । अघि सत्ययुगमा दैत्यहरुको संहार गर्ने देवी दुर्गाको नवरात्रभरि गरिएको पूजा विसर्जन र विजया दशमीकै दिन त्रेतायुगमा मर्यादा पुरुषोत्तम श्रीरामले रावणआदि राक्षसको संहार गरेको विश्वास गरिन्छ । यो विश्वासअनुसार विजया दशमीका दिन रावणबध उत्सव मनाउने मैथिल परम्परा छ ।

यसपालि कोभिड–१९ सङ्क्रमण जोखिमले गर्दा महोत्तरीमा रावणबध मूर्ति स्थापना र उत्सव भने आयोजना गरिएका छैनन् । जिल्लाको मटिहानीमा बर्सेनि आयोजना हुने रावणबध महोत्सव यसपालि सङ्क्रमण जोखिम बढ्दै गर्दा रोकिएको नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ ।रासस

प्रतिक्रिया दिनुहोस
Advertisement