इलाम–२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत


काठमाण्डु – इलाम-२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएको छ । रास्वपाका उमेदवार मिलन लिम्बूले जमानत जोगाउन नसकेका हुन् । उनले चौथो स्थानमा रहँदै ५ हजार ५० मत मात्रै पाएका छन् ।

निर्वाचनमा जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत मत ल्याउनु पर्छ । इलाम–२ मा ६८ हजार ४७२ मत सदर भएको थियो । ६९ हजार ३७४ मत खसेकोमा ९०२ मत बदर भएको जिल्ला निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

इलाम–२ मा आफ्ना उमेदवारलाई जिताउन रास्वपाका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेलगायत पार्टीका शीर्ष नेता इलाम पुगेका थिए ।  इलाम–२ बाट नेकपा (एमाले)का सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उमेदवार डम्बर खड्कालाई पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

नेम्वाङले निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्कालाई पाँच हजार ८३० मतान्तरले पराजित गरेका हुन् । विजयी नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे ।

तेस्रोमा पहिचानवादी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए । २०८० भदौ २६ गते एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि यो क्षेत्रमा वैशाख १५ मा उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement