मिन विश्वकर्माकाे प्रश्न : सरकार कहाँ छ ?


काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीन बहादुर विश्वकर्माले वर्तमान सरकारको विकल्प खोजिनुपर्ने बताएका छन् ।

उनले भने,‘सरकार कहाँ छ ? सरकार कहीँपनि देखिएको छैन् । नेपालको सिमानाभित्र नेपाल सरकार छैन् । सरकार हामीभन्दा बाहिर छ । अहिले यत्रो बाढि/पहिरो गएको छ, कोरोनाको महामारी छ, हत्या, हिंसा, बलात्कार, एसिड आक्रमणजस्ता घट्ना घटेका छन्, तर सरकार कहीँपनि छैन् ।’

राजधानीमा भएको एक कार्यक्रममा बोल्दै नेता विश्वकर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा कविता लेखेर बस्ने गरेको तर प्रधानमन्त्रीलाई जनताको दुःख र पीर÷मार्का थाहा नभएको टिप्पणी गरे । उनले भने,‘जनता दुःख र पीडामा छन्, तर प्रधानमन्त्री बालुवाटारमा बसेर अब आँशु झार्नु पर्दैन् र कोही भोकै मर्नुपर्दैन् भनेर कविता लेख्नुहुन्छ । जनतालाई प्रधानमन्त्री बालुवाटारमा छन् भन्ने कुरा थाहा छ, तर सरकार कहँ छ भन्नेबारे केही थाहा छैन् ।’

सत्तारूढ दलभित्रबाटै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पको खोजि भैरहेकोले वर्तमान सरकारको विकल्प खोज्नुको विकल्प नै नभएको उनको भनाई छ । उनले भने,‘नेकपाले जनता झुक्याउने काम गरिराखेको छ । यो सरकारको विकल्प खोजिनुपर्छ ।’ तर, सरकारको विकल्प खोज्नेबारे बल सत्तारूढ नेकपाकै कोर्टमा रहेको उनको टिप्पणी छ ।

उनले आम नागरिकबीच सरकार नभएको जिकिर गरे । उनले भने,‘कहिलेकाहीँ हामी सञ्चारमाध्यमबाटै देख्छौं–यो सरकार नेपालभित्र नभएर बाहिर पो छ कि ? किनकी बाहिरका मान्छे आएर यो सरकार टिकाईदिने, बाहिरका मान्छे आएर सत्तारुढ दलको अविश्वासको प्रस्ताव रोकिदिने ? बाहिरको मान्छे आएर प्रधानमन्त्रीको आयु लम्ब्याईदिएको देख्दा सरकार हामीसँग छैन् । सरकार हामीभन्दा बाहिर छ कि जस्तो अनूभुति हुन्छ ।’ रुकुमपश्चिमको नरसंहार, युवतीमाथि एसिड आक्रमणदेखि चितवनको राष्ट्रिय निकुञ्जमा सेनाले मान्छे मारेको घट्ना कतैपनि सरकार नदेखिएको उनको गुनासो छ ।

वर्तमान सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउँदै गर्दा वैकल्पिक प्रधानमन्त्रीको नामपनि उल्लेख गरेर प्रस्ताव ल्याउनुपर्ने संवैधानिक प्रावधान सुनाउँदै विश्वकर्माले भने,‘स्पष्ट बहुमतको साथ रहिरहेको सरकारको विकल्पको खोजि गर्ने जिम्मा पहिलो त सत्तारुढ दलकै हो । उहाँहरु अर्को प्रधानमन्त्रीको खोजिमा आफैं लाग्नुभएको छ । आफैं त्यहाँ अर्को प्रधानमन्त्रीको खोजि गर्ने निश्कर्ष निस्किसकेपछि आम जनताको तर्फबाट वैकल्पिक सरकार खोज्ने कुरामा प्रमुख प्रतिपक्षी दल पछाडि पर्दैन् । हामी समयको पर्खाईमा मात्रै छौं । अहिले हतारो गर्ने कुरा प्रमुख प्रतिपक्षी दल वा प्रतिपक्षी दलको भन्दापनि सत्तारूढ दल स्वयमको हो ।’

उनले शक्ति पृथकीकरणको सिद्धान्तबमोजिम संविधानमै आफूहरुले स्वतन्त्र न्यायापालिकाको कल्पना गरेको र उसले दिर्ने निर्देशन, गर्ने फैसला र निर्णयलाई अक्षरंश पालना गर्ने कुरा संविधानमै प्रत्याभुति गरिएको बताए । तर, न्यायालयबाट गैर–न्यायिक, गैरकानूनी र गैरसंवैधानिक फैसला आउँछ भने जनताले फेरि कानून, संविधानको अक्षरमात्रै पढेर अन्याय सहेर नबस्नेपनि उनले चेतावनी दिए ।

उनले भने,‘हामी न्यायालयको स्वतन्त्रता स्वीकार्छौं, तर स्वच्छन्दता स्विकार्दैनौं ।’ रञ्जन कोइरालाको मुद्दाबारे सर्वोच्च अदालतले गरेको फैसलाप्रति उनले दुःख व्यक्त गरे । उनले भने,‘प्रधानन्यायाधीश सहितको संलग्नतामा भएको यो फैसला सरासर गलत हो । न्यायमूर्तिहरुले कानूनको अक्षरलाई अवमूल्यन गर्नुहुँदैन् ।’

नेता विश्वकर्माले पीडितले न्याय पाउनुपर्ने र पीडकले हदैसम्मको सजाय भोग्नुपर्ने बताए । उनले भने,‘पीडितले न्याय पाउनुपर्छ । र, पीडकले हदैसम्मको सजाय भोग्नुपर्छ । र, न्यायमूर्तिहरु आफ्नो ठाउँमा बस्नुपर्छ । अहिलेको केशमा पूनरोवलकन गर्ने भनिएको छ, त्यसअनुसार सुनुवाई होस् । महाअभियोग भनेको त्यति सजिलो छडी होईन् । दाहिने वा देब्रे, तल वा माथि जतिबेलापनि चलाउन मिल्ने छडी होईन् । यसमा पूनरावलोकन गरिन्छ भन्ने मलाई विश्वास छ । महाअभियोगको स्टेप चाल्नुपर्ने अवस्था नआओस् । यदि यसमा सच्याईएन र यसैगरि विकृति बढ्यो भने त्यो अवस्थामा पनि पुग्नुपर्ने हुनसक्छ ।’

पछिल्लो समय यस्ता घट्ना किन भैरहेका छन् ? त भन्ने सवालमा उनले सरकारलाई दोष दिए । उनले भने,‘न्यायापालिका त्यस्तै, सेना त्यस्तै, प्रहरी त्यस्तै, किनकी सरकार आफैं अपराधीलाई कारबाही गर्दैन् । त्यही भएर देशमा कुशासन बढेको हो । समग्रमा यो सरकार असफल भयो । यसको विकल्प खोज्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement