प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशन: अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न आग्रह

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशन: अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक खर्चमा मितव्ययीता अपनाउन सबै सरकारी निकायलाई अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ।

कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, सरकारी कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश सरकारहरूलाई परिपत्र जारी गर्दै हाल प्रयोगमा रहेका सामग्रीलाई नै मर्मत गरी प्रयोग गर्न आग्रह गरेको हो।

परिपत्रमा कार्यालय प्रमुखहरूलाई अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगरी कार्यालयमा रहेका सामान, औजार, उपकरण, फर्निचर तथा सवारी साधनलाई चालु अवस्थामा राखेर उपयोग गर्न निर्देशन दिइएको छ। साथै सार्वजनिक खर्चलाई मितव्ययी बनाउन विशेष ध्यान दिन भनिएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार प्रयोगमा रहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटपलगायत सामग्री प्रयोग नगरी नयाँ खरिद गर्ने तथा मर्मतका नाममा अस्वाभाविक खर्च गर्ने प्रवृत्तिबारे गुनासो आएको थियो। यस्ता कार्यले राज्यकोषमा अनावश्यक भार सिर्जना गरिरहेको कार्यालयको भनाइ छ।

प्रधानमन्त्री कार्यालयको सुशासन, भ्रष्टाचार नियन्त्रण तथा कर्मचारी पृष्ठपोषण शाखाका शाखा अधिकृत सूर्यबहादुर बस्नेतले सार्वजनिक खर्चलाई व्यवस्थित र मितव्ययी बनाउन उक्त परिपत्र जारी गरिएको जानकारी दिएका छन्।