सेवाग्राहीको काममा विशेष ध्यान दिन रक्षामन्त्रीको निर्देशन


विराटनगर – रक्षामन्त्री डा मीनेन्द्रप्रसाद रिजालले सेवाप्रदायत कार्यालयले सेवाग्राहीको काममा विशेष ध्यान दिन निर्देशन दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा आज बिहान राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिने क्रममा उनले स्थानीय तहबाट समाधान हुने समस्या प्रमुख जिल्ला अधिकारीलाई र केन्द्रबाट समाधान हुने समस्या लिखितरूपमा पठाउन पनि निर्देशन दिए ।

उनले निर्देशनभन्दा पनि राष्ट्रसेवक कर्मचारी जनताका काममा जुट्नुपर्ने आग्रह गरे । सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मोरङको शान्ति, सुरक्षाको अवस्था सामान्य रहे पनि चाडपर्वलाई ध्यानमा राखेर विशेष सुरक्षा व्यवस्था मिलाएको र यसका लागि एक हजार ६०० प्रहरी परिचालन गरिएको जानकारी दिए ।

उनले खुला सीमाका कारण हजारौँ नागरिक नेपाल–भारत ओहोरदोहोर गर्ने गरेको जानकारी दिँदै कामका लागि भारत गएका नेपाली नागरिक नेपाल प्रवेश गर्ने क्रममा ऐन्टिजेन परीक्षण गरी सोहीअनुसारको व्यवस्था मिलाइएको बताए ।

प्रमुख जिल्ला अधिकारी दाहालले जिल्लामा आपूर्तिको समस्या नरहेको र नेपालभन्दा भारतमा प्रतिकिलो चिनीको मूल्यमा ३० कम रहेकाले धेरै नागरिक सीमावर्ती बजार जाने गरेको जानकारी दिँदै मोरङको भारततर्फ ६३ किमी सीमा क्षेत्रमा आपराधिक गतिविधिलाई नियन्त्रण गर्न, लागुऔषध कारोबारलाई निस्तेज पार्न र मानव बेचबिखन कार्यतर्फ पनि विशेष ध्यान पु¥याइएको जानकारी दिए ।

उनले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा ल्याइएको जनाउँदै १८ वर्षमुनिका बालबालिकलाई पनि खोपको प्रबन्धतर्फ रक्षामन्त्रीको ध्यानाकर्षण गराए । सो अवसरमा प्रहरी उपरीक्षक जनार्दन जिसी, सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज पौडेल, स्वास्थ्य कार्यालयका प्रमुख डा सुरेश मेहता र कोशी अस्पताल विराटनगरका प्रमुख डा चुमनलाल दासले पनि आ–आफ्ना समस्या अवगत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement