यस्तो छ नवनियुक्त ९ मन्त्रीको नालिबेली


काठमाडौं – केपी ओली सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । लामो समयपछिको गृहकार्यपछि प्रधानमन्त्री ओलीले ९ जना मन्त्री र राज्यमन्त्री नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिएका हुन् ।

मन्त्रीहरुले राष्ट्रपतिबाट र राज्यमन्त्रीहरुले प्रधानमन्त्रीबाट शपथ लिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राति ६ मन्त्री र ३ राज्यमन्त्रीलाई हटाएर नयाँ मन्त्री र राज्यमन्त्रीहरू नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीमा रामेश्वर राय यादव श्रम रोजगार तथा सामाजिक सुरक्षा, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन, लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकास र पार्वत गुरुङ महिला बालबालिका तथा ज्येष्ठ नागरिक, बसन्तकुमार नेम्वाङ भैतिक पूर्वाधार तथा यातायात रहेका छन् ।

त्यस्तै मोतिलाल दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, नवराज रावत स्वास्थ्य तथा जनशंख्या राज्यमन्त्री र रामवीर मानन्धर शहरी विकास राज्यमन्त्री नियुक्त भएका छन् ।

कुन मन्त्री कस्ता ?

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट पूर्वमाओवादीका प्रभावशाली नेता हुन् । उनी प्रचण्ड निकट मान्छिन् । पहिले पनि तीन पटक मन्त्री भएका भट्ट लामो समयदेखि मन्त्री बन्ने लाइनमा थिए । कैलाली क्षेत्र नं. ४ बाट संविधानसभा सदस्यमा चुनाव जितेका थिए । स्नातक तह सम्मको औपचारिक अध्ययन पुरा गरेका  छन् ।

संघीय मामिला तथा सामान्य प्रशासनको जिम्मेवार पाएका हृदयेश त्रिपाठी भाग्यमानी नेताको रुपमा चिनिन्छन् । ३० वर्षदेखि राजनीतिमा सक्रिय त्रिपाठीको जन्मस्थल नवलपरासी हो । राजपाबाट टिकट लिएर गएको प्रतिनिधि सभाको चुनावमा सूर्य चिह्न लिएर चुनाव लडेका त्रिपाठी विधिवत रुपमा नेकपामा प्रवेश गरेका थिए ।

नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट सूर्य चिह्न लिएर चुनाव लडेका त्रिपाठी ५००१ मतान्तरले विजयी भएका थिए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी पाएका घनश्याम भुसाल नेकपामा बौद्धिक नेताको रुपमा चिनिन्छन् ।

कडा स्वभावका भुसाल पार्टीले गरेको निर्णय चित्त नबुझे विरोध जनाइहाल्छन् । रुपन्देहीको क्षेत्र–३ बाट तत्कालिन एमाले र माओवादीको वाम गठबन्धनबाट भुसालले चुनाव जितेका थिए ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका पार्वत गुरुङ दोलखाबाट निर्वाचित सांसद हुन् । केपी ओली निकट मानिने गुरुङले वाम गठबन्धनबाट कांग्रेस नेता रुद्रबहादुर खड्कालाई भारी मतान्तरले पराजित गरेका थिए ।

दोलखाको उत्तरी भूभाग गौरीशंकर गाउँपालिका २ सुरीमा जन्मिएका गुरुङ एमालेका जिल्ला इञ्चार्ज बनेका थिए । २०२५ सालमा सुरीमा जन्मिएका गुरुङ अनेरास्ववियुको राजनीतिबाट वाम राजनीतिमा आवद्ध भएका थिए ।

स्नातकसम्म अध्ययन गरेका गुरुङ ०७० मा पनि दोलखा १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

त्यस्तै भैतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका बसन्तकुमार नेम्वाङ पाँचथर निवासी हुन् । सुवास नेम्वाङ निकट मानिने उनले प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनबाट चुनाव जितेका हुन् । उनी यो भन्दा अगाडि पनि सांसद भइसकेका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी पाएका मोतिलाल दुगड मोरङ निवासी हुन् । उद्योगीको रुपमा परिचित दुगड एमालेबाट समानुपातिक सांसद हुन् । केपी ओली निकट मानिने उनको माडवारी समुदायबाट राज्यमन्त्री बनेपछि झनै चर्चा चुलिएको छ ।

विराटनगरका ५४ वर्षीय दुगड सेञ्चुरी मसला उद्योगका सञ्चालकसमेत हुन् । विराटनगरमा रहेको चार तारे ह्यारिसन होटल सेञ्चुरी मसलापछि अहिले दुगडको अर्को ठूलो व्यवसाय हो ।

विराटनगरको आफ्नो होटलमा राजनीतिक भेटघाटहरू गराउने क्रममा उच्च नेताहरूसँग निकटता बढाएका दुगड पूर्व एमालेको कोटाबाट समानुपातिक सांसद बनेका हुन् । प्रधानमन्त्री ओलीले नै पहिलो पटक प्रधानमन्त्री हुँदा दुगडको ह्यारिसन होटलको उद्घाटन गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएका नवराज रावत मध्यपश्चिमका हुन् । सुर्खेत क्षेत्र नम्बर २ बाट निर्वाचित भएका रावत पुर्व एमालेमा सुर्खेतको जिल्ला अध्यक्ष भएका थिए । राष्ट्रपति विद्यादेखी भण्डारी निकट नेताका रुपमा चिनिने रावत मदन भण्डारी फाउण्डेशनको सुर्खेत अध्यक्ष समेत हुन् ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर काठमाडौं निवासी हुन् । काठमाडौं क्षेत्र नम्बर ७ बाट चुनाव जितेका मानन्धर वामदेव गौतम निकट मानिन्छन् । बर्दियाबाट पराजित गौतमलाई काठमाडौं चुनाव लड्नका लागि राजीनामा दिन तयार भएर चर्चामा आएका नेता हुन मानन्धर ।

उनले जसरी भए पनि गौतमलाई जिताएर छोड्ने अठोट लिएका थिए । तर, मतदाताको विरोधपछि वामदेवले काठमाडौंबाट चुनाव नलड्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement