मिटरव्याजी ‘मन्टु’ भनिने सञ्जयप्रसाद रौनियार जेल चलान


काठमाण्डु – चक्रवर्ती मिटरब्याज लगानी गरेर सर्वसाधारण ठगेको आरोपमा पक्राउ परेका बिराटनगरका मिटरव्याजी ‘मन्टु’ भनिने सञ्जयप्रसाद रौनियार जेल चलान भएका छन् ।

विराटनगर–९ घोघापुल चोकका रौनियारलाई सोमबार पुर्पक्षका लागि कारागार चलान गरिएको हो । न्यायाधीश ईश्वर पराजुलीको इजलासले अन्य चार वटा मुद्दामा पाँच लाख ८० हजार रुपैयाँ धरौटी बुझाउन आदेश दिएको मोरङ अदालतका स्रेष्तेदार राजकुमार दाहालले जानकारी दिए ।

उनीविरूद्ध ठगी तथा आपराधिक लाभ लिएको कसूरमा १७ वटा मुद्दा दायर भएका थिए । तीमध्ये १३ वटा मुद्दामा अनुसन्धान गर्नु बाँकी रहेको भन्दै अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

‘मिटरब्याज’ धन्दा चलाउँदै आएका ४५ वर्षीय रौनियारलाई प्रहरीले मंसिर २९ गते साँझ घरैबाट पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले रौनियारले एक करोड १० लाख रुपैयाँ ठगी र आपराधिक लाभ लिएको मुद्दा अदालतमा बुझाएको थियो ।

प्रहरीका अनुसार उनले ९२ लाख ८८ हजार रूपैयाँ ऋण दिएर दुई करोड ७० लाख ३१ हजार रुपैयाँ असुली गरेका हुन् । उनले अझै एक करोड ३८ लाख ९८ हजार ४०० रुपैयाँ थप रकम दावी गरेका छन् ।

मन्टुले विभिन्न व्यक्तिका ६० कित्ता जग्गाको तमसुक गरी ५० करोड भन्दा बढी रकम असुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ । जसमा ४० कित्ता सञ्जयको नाममा देखिएको छ भने उनकी श्रीमती ज्योतिको नाममा २० कित्ता जग्गा राजीनामा पास गराइसकेको खुलेको छ ।

उनले मिटरब्याजमा ऋण दिएपछि गाउँ–गाउँमा एजेन्ट परिचालन गर्ने गरेको पीडितहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement