मिस नेपाल खतिवडा चेपाङ बस्तीमा स्वास्थ्य चौकी बनाउँदै


काठमाडौं– मिस नेपाल वल्र्ड २०१८, श्रृंखला खतिवडाले मकवानपुरको चेपाङ बस्तीमा स्वास्थ चौकी निमार्ण गर्ने भएकी छन् । चेपाङहरूको कमजोर स्वास्थ्यलाई मनन् गर्दै उनले यस्तो काम गर्न लागेकी हुन् ।

आर्किटेक्ट इन्जिनियरसमेत रहेकी खतिवडाकै डिजाइनमा भवन निर्माण हुनेछ । उक्त भवन कैलाश गाउँंपालिका वडा नं ७ मा भवन निर्माण हुन लागेको गोर्खा इको प्यानलले जानकारी दिएको छ ।

करिब ४० लाख रुपैयाँ लागत अनुमान गरिएको भवन निर्माण गर्न प्यानलले १२ लाख रुपैयाँ दिने सहमति जनाएको छ । स्थायी तथा अस्थायी भवन निर्माण गर्न प्यानलले वालको रूपमा प्रयोग गरिने ‘इको प्यानल’ प्रदान गर्नेछ ।

खतिवडा गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर पनि हुन् । भवन निर्माण गर्न अपुग रकम जुटाउन खतिवडाले अन्य संघ संस्थासंँ पनि सहयोगको आग्रह गरेकी छन् ।

चेपाङहरूको स्वास्थ्यमा सुधार ल्याउन भवन निर्माण गर्न लागिएको गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले बताए ।

चीनको सान्यामा आगामी डिसेम्बर ८ मा हुने मिस वल्र्ड प्रतियोगितामा प्रतिस्पर्धी खतिवडाले स्वास्थ्य चौकी निर्माण पूरा गरी त्यसको वृतचित्र प्रदर्शन गर्ने बताएकी छन् ।

‘ब्युटी विथ पर्पाेज (उद्देश्यसहितको सौदर्यता)’ भन्ने नाराका साथ हरेक वर्ष यो प्रतियोगिता हुन्छ । यसमा आफूले पृथक उद्देश्यका साथ पिछडिएको चेपाङ समुदायका लागि स्वास्थ्य चौकी बनाएर ‘मिस वल्र्ड’ मा सफलता मिल्ने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement