२४ दिनदेखि वेपत्ता दम्पत्ती प्रकरणको अनुसन्धानमा खटियो सिआईबी


काठमाण्डु – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले २४ दिनदेखि वेपत्ता भएका एक दम्पती घटनाको खोजी सुरु गरेको छ । महोत्तरीको पिपरा गाउँपालिका–५ सहोड्वाका एक दम्पती गत फागुन १० गते राति आफ्नै घरबाट बेपत्ता भएका थिए ।

ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीय गीतादेवीको खोजी अब सिआइबीले थालेको हो ।यसअघि नेपाल प्रहरीको प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीले बेपत्ता दम्पतीको खोजी गरिरहेको बताए पनि पत्ता लाग्न नसकेपछि प्रहरी प्रधान कार्यालयले सिआईबी टोली खटाएको हो । झा दम्पती सुतेको खाटसहितै हराएका छन् ।

नेपाल प्रहरीको सिआइबी प्रमुख सहकुल थापाले बेपत्ता दम्पतीको खोजीमा टोली परिचालन गरिएको जानकारी दिए । ब्यूरोका प्रहरी निरीक्षकको कमाण्डको टोली बुधबार नै महोत्तरी पुगेर काम थालेको उनले बताए । झा दम्पती राति ओछ्यानबाटै बेपत्ता भएको घटनालाई आपराधिक समूहले अपहरण गरेको अड्कल गरिँदै छ ।

फागुन ११ गते बिहान झा दम्पती हराएको घटना सार्वजनिक भएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक जाँच गर्दा घरकोठाको सङ्घारमा रगतका छिटाजस्तो देखिएपछि हत्या गरिएको हुनसक्नेसम्मको अड्कल गरिएको छ ।

लामो समयसम्म बेपत्ता झा दम्पतीको अवस्था पत्ता लाग्न नसकेपछि खोजी कार्य फितलो भएको गुनासो गर्दै मैथिल ब्राह्मण युवा महासभा प्रदेश २ समितिसहित ४४ सामाजिक सङ्घसंस्थाले सिआइबी टोली परिचालन गर्न प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण गराएका थिए ।

यसअघि बेपत्ता झा दम्पतीको खोजीमा प्रहरीले ५० भन्दा बढीलाई जिल्ला प्रहरी कार्यालय पुर्याएर केरकार गर्दा पनि घटनाबारे खास तथ्य फेला नपरेपछि पिपरा गाउँपालिका क्षेत्रमा त्रास फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement