मोदीको शपथ ग्रहण समारोहमा सात हजार जनालाई निम्तो

मोदीको शपथ ग्रहण समारोहमा सात हजार जनालाई निम्तो


काठमाण्डु–भारतमा नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार तेस्रो कार्यकालका लागि शपथ लिदैंछन् ।

उनको शपथ ग्रहण समारोहमा भाग लिन सार्क राष्ट्र र बाहिरका सरकार प्रमुखहरू पनि सहभागि हुँदैछन् । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसहित बंगलादेश, श्रीलंका, मालद्विव्स, भूटान, मारिशस र सेशेल्सका प्रधानमन्त्री तथा राष्ट्रपतिहरूको सहभागिता रहने छ ।

शपथ ग्रहण समारोहमा देश विदेशका गरी सात हजारभन्दा बढी आगन्तुकलाई निमन्त्रणा गरिएको छ । नेपालका प्रधानमन्त्री दाहालसहित बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथ, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु र सेशेल्सका राष्ट्रपति वेवेल रामखेलावन छन् ।

मोदीले आइतबार साँझ सवा सात बजे शपथ लिने कार्यक्रम तय भएको छ ।

शुक्रवार उनलाई भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको नेशनल डेमोक्रेटिक एलाइन्स (एनडीए)ले संसदीय दलका नेतामा चयन गरेको थियो । त्यसपछि उनी राष्ट्रपति द्रौपदी मुर्म समक्ष सरकार बनाउने दाबी पेश गरेका थिए । भारतको लोकसभा चुनावमा एनडीएको २९२ सिटमा जितसँगै नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिने तयारी गरिरहेका छन् ।

मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन् । उनी पहिलोपटक २०१४ मा र दोस्रोपटक २०१९ मा प्रधानमन्त्री बनेका थिए । अहिलेको निर्वाचनमा उनको पार्टी भाजपा नेतृत्वको एनडीए गठबन्धनले ५४३ सदस्यीय लोकसभामा २९२ सिट जितेको छ । भाजपा एक्लैले भने यसपटक २४० सिट जितेको छ ।

शपथ ग्रहण समारोहका लागि राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दिल्लीलाई ‘नो फ्लाइङ जोन’ पनि घोषित गरिएको छ । शहरका कुनाकुनामा प्रहरीले सुरक्षा दिइरहेका छन् ।

साथै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल र अन्य संवेदनशील क्षेत्रहरू नजिक ड्रोन र लेजर बिम गतिविधि रोक्न निषेधाज्ञा लगाइएको छ ।

शपथ ग्रहण कार्यक्रम पछि राष्ट्रपति मुर्मुले विदेशी पाहुनाहरूको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोजको आयोजना गर्नेछिन् ।