मोदीको भुटान भ्रमणका क्रममा प्रतिरक्षा र सुरक्षासम्बन्धी विषयमा समीक्षा हुने


नयां दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटान भ्रमणमा जाने भएका छन् । अगस्ट १६ र १७ गते भारतिय प्रधानमन्त्री दुई दिने भ्रमणका क्रममा थिम्पु जांदैछन् । 

भारतिय प्रधानमन्त्रीको भ्रमण मुख्यगरी सुरक्षासम्बन्धी विषयमा केन्द्रित हुने बताईएको छ । उनको भुटान भ्रमणको वारेमा जानकारी दिन शुक्रवार नयां दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतिय विदेश मन्त्रालयका सचिव विजय गोखलेले भुटान भ्रमणको क्रममा प्रतिरक्षा र सुरक्षासम्बन्धी विषयमा समीक्षा हुने स्पष्ट पारेका छन् । गोखलेकाअनुसार भ्रमणका क्रममा त्यो बाहेक भुटान र भारतको सीमाबारे पनि छलफल हुने कार्यक्रम छ । 

भुटान भ्रमणका क्रममा मोदीले भारतको ऋण तथा सहयोगमा निर्माण गरेको मादेन्छु जलविद्युत आयोजनादेखि भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले तयार पारेको ग्राउण्ड स्टेसन उद्घघाटन गर्ने कार्यक्रमको तयारी पुरा भइसकेको छ । 

राष्ट्रसंघ सुरक्षा परिषदमा सदस्य रहेका मुलुकसंग कुटनीतिक सम्बन्ध नराख्ने नीति लिएको भुटानले पछिल्लो समय चीन र अमेरिकासंग सम्बन्ध विस्तार गर्ने तयारी गर्दा भारत त्यसबाट त्रसित हुंदै आएको छ । सीमावर्ती क्षेत्रमा चीनले पूर्वाधार निर्माणको काम थालेपछि गत वर्ष भुटान र चीनबीच विवाद भएपछि भारतले दोक्लाममा सेना पठाएको थियो । 

त्यो घटनाबाट भारत र चीनबीचको सम्बन्ध समेत खराव भएको थियो । दुवै देशविच दुई महिनासम्म विवाद भएपछि युद्ध हुन सक्ने आशंका समेत गरिएको थियो । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमणमा पुगेपछि विवाद समाधान भएको थियो । 

भुटानसंग भएको प्रतिरक्षा सम्झौताअनुसार आफु दोक्लाम पुगेको भारतिय दावी रहंदै आएको छ । भारतले भुटानको रक्षा मामला हेर्ने गरी दुई देशबीच सम्झौता भएको छ  । भुटानसंग भएको प्रतिरक्षा सम्झौताअनुसार त्यहांको रक्षा मामिला भारतले हेर्दै आएको हो । 

भारतिय विदेश सचिव गोखलेले भारत र भुटानबीच निकै भरपर्दो र विश्वसनीय सम्बन्ध रहेको भन्दै भुटानले भारतलाई आश्चर्यमा पार्नेगरी कुनै काम गर्दैनन् भन्ने विश्वास रहेको बताए । 

गोखलेको भनाई चीनले भुटानमा दूतावास राख्न खोजेको विषयप्रति इंगित थियो । चीनसंग कुटनीतिक सम्बन्ध राख्न थिम्पुमा बहस भइरहेको बेला गोखलेको यो भनाई सार्वजनिक भएको हो । 

उनले चीन र भुटानबीच भएको सीमा वार्ताको विषयमा भने टिप्पणी गर्न अस्विकार गरेका छन् । चीन र भुटानबीच सीमा क्षेत्रमा रहेको विवाद समाधानका लागी २४ चरणमा वार्ता भएपनि सहमती भने जुट्न सकेको छैन् । 

 

प्रतिक्रिया दिनुहोस
Advertisement