मोदी हेलिकोप्टरमार्फत सीधै जनकपुर जाने, किन पुग्दैछन् मुस्ताङ?


काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतबाट सीधै जनकपुर पुग्ने भएका छन्।

यसअघिका प्रायः उच्चस्तरीय भ्रमणको अवतरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएकोमा दोस्रो पटक नेपाल आउन लागेका मोदी २८ वैशाखमा हेलिकोप्टरमार्फत् जनकपुरमा अवतरण गर्नेछन्।

उनी भारतीय वायुसेनाको विमानमा नयाँदिल्लीबाट पटना विमानस्थलमा अवतरण गर्ने छन्। र, त्यहाँबाट तीनवटा हेलिकोप्टरमा जनकपुर अवतरण गर्नेछन्।

मोदीलाई जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम रहेको र नागरिक अभिनन्दन पनि गरिने गृहमन्त्री रामबहादुर थापाले बताए।

प्रधानमन्त्री मोदी यहाँ जानकी मन्दिरमा पूजापाठ गरेपछि त्यही दिन मुस्ताङ पुग्ने कार्यक्रम छ। मुक्तिनाथ मन्दिरमा पुजा गरेपछि मोदी अपरान्ह काठमाडौं जानेछन्।

गृहमन्त्री थापाले मोदीको यो भ्रमण धार्मिक मात्र रहेको बताए।

मोदी नेपाल आउने भएपछि सुरक्षको अवस्थाबारे जानकारी लिन गृहमन्त्री थापा, गृहसचिव प्रेमकुमार राई, गृहप्रवक्ता रामकृष्ण सुवेदी, आइजीपी सर्वेन्द्र खनालसहित मंगलबार जनकपुर पुगेका छन्।

किन जाँदैछन् मुस्ताङ?

मोदी जनकपुरबाट नेपाल–चीन नाका जोड्ने जिल्ला मुस्ताङ पुग्ने कार्यक्रम रहेपनि उद्देश्य खुलाइएको छैन। तर, कतिपय जानकार भन्छन्–मोदी मुुस्ताङ पुुग्नको एउटा कारण हो नेपाल–चीन जोड्ने कोरल्ला नाकाको अवलोकन।

नेपालमा चुनावको तयारी भइरहेका बेला यसअघि भारतीय राजदूत मञ्जिवसिंह पुरी मुुस्ताङ सदरमुकाम जोमसोम पुगेका थिए। त्यहाँ छँदा उनले कालीगण्डकी नदीमाथि निर्माण भएको मोटरेबल पुलको उद्घाटन मात्र गरेनन् भारतले नेपालका विभिन्न विषयमा सघाउँदै आएको र अब पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले पनि काेरला नाकाे अवलाेकन गरेका थिए।

मुस्ताङमा मुक्तिनाथ मन्दिर रहेको छ। मोदी त्यहाँ जाँदा मुक्तिनाथको दर्शन गर्नेछन्।

मुस्ताङमा भारतीय दूतावासको सहयोगमा विद्यालय भवन, गुम्बा, धर्मशाला, पुल लगायतका भौतिक संरचनाहरु निर्माण गरिएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement