मोदीको विशेष दूतका रूपमा ‘रअ’प्रमुख नेपाल आए : ईश्वर पोखरेल


काठमाण्डु – उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतीय गुप्तचर संस्था ‘रअ’प्रमुख सामन्त गोयलको नेपाल भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रुपमा भएको बताएका छन्।  ‘रअ’ प्रमुख नै परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा नेपाल आएको तथा काठमाण्डुस्थित भारतीय राजदूतावासले औपचारिक रूपमा त्यसको जानकारी गराउँदै आवश्यक पत्राचार र पहल गरेको उपप्रधानमन्त्री पोखरेलले बताएका छन् ।

प्रधानमन्त्रीको प्रस्तुतिलाई ‘रअ’ प्रमुखले सकारात्मक रूपमा लिँदै अविलम्ब वार्ताद्वारा समाधानका लागि अघि बढ्नुपर्ने भनाइ राखेको पोखरेलको दाबी छ ।‘रअ’ प्रमुखसँग भएको वार्ताको औपचारिक टिपोट परराष्ट्र मन्त्रालयमा समेत सुरक्षित रहेको उपप्रधानमन्त्री पोखरेलले भनेका छन् ।

तर, भेटवार्तालाई अतिरञ्जित गर्ने काम भएको भन्दै उनले आफ्नो ६ बुँदे वक्तव्यमार्फत भनेका छन्, ‘विगत केही समयदेखि केही असहज बन्न पुगेको नेपाल भारत सम्बन्धलाई यही अवस्थामा रहन दिनु नहुने मान्यताका साथ गरिएको यो पहल र प्रयत्नलाई एक स्वरमा खासखास खालका मानिसहरूद्वारा किन विरोध भइरहेको छ ? तिनीहरूले किन विरोध गरिरहेका छन् ? यसलाई अघि सारेर प्रम केपी शर्मा ओली र उहाँले नेतृत्व गरेको सरकारको विरोधमा किन खनिदैछन्, ती मानिसहरू ? कारणहरू राम्ररी बुझिएको छैन । अहिले धेरै कुरा किन गर्ने ! उहाँहरूले वास्तविकता नबुझी पूर्वाग्रह राखेर वा विरोधका लागि विरोध गर्नुपर्छ भन्ने अस्वस्थ्य मानसिकता बोकेर यी सबै काम गरिरहनु भएकोछ भन्ने कुरा ठोकेर भन्न सकिन्छ ।’

मन्त्री पोखरेलले प्रोटोकललाई ख्याल नगरिएको, मर्यादाको पालना नगरिएको, छिमेकी मुलुकको जासूसी संस्थाको योजनामा संचालित हुन खोजेको, वार्ताका विषयलाई रहस्यमा राखिएको, राष्ट्रियता र स्वाधीनतामा आँच पुर्याइएको आदि भनेर आरोप लगाउनु गलत भएको बताएका छन्। उनले यो गलत बहसमा कम्युनिस्ट पार्टीकै कतिपय नेता लागेकोसमेत आरोप लगाएका छन्।

‘कम्युनिस्ट पार्टीको सरकार विरूद्धमा एउटा गलत खालको बहस सिर्जना गर्न खोजिदैछ’ उनले भनेका छन्, ‘दुर्भाग्य ! कम्युनिस्ट पार्टीकै कतिपय नेताहरू समेत यस अभियानमा संलग्न हुन खोजेका देखिदैछन्।’

उपप्रधानमन्त्री पोखरेलका धारणा:

१- भारतीय गुप्तचर संस्था -‘रअ’ का प्रमुख सामन्त गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे विशेष दूतका रूपमा प्रधानमन्त्री केपी ओलीसित भेट तथा संवादका लागि आए र फर्किए ।

२- नेपाल सरकारको परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा उनी नेपाल आएका हुन् । काठमाण्डौंस्थित भारतीय राजदूतावासले औपचारिक रूपमा त्यसको जानकारी गराउँदै आवश्यक पत्राचार र पहल गरेको थियो ।

३- प्रधानमन्त्री केपी शर्मा ओलीले सामन्त गोयलको टोलीसित केके विषयमा कुरा गर्नुभएको थियो ? बातचितमा प्रम ओलीसित रहनुभएका प्रतिनिधिहरूले जिम्मेवारीपूर्वक सुनेका छन् – टिपोट गरेका छन् । परराष्ट्र मन्त्रालयमा समेत वार्ताको औपचारिक टिपोट सुरक्षित छ ।

४ – वातचितमा प्रम ओलीले विगत केही समयदेखि असहज बन्नपुगेको नेपाल- भारत सम्वन्ध खासगरी सीमा समस्यासित र नयाँ नक्सा प्रकाशनसित गाँसिएका विषयमा केन्द्रित रहेको थियो । त्यहाँ नेपालले राख्दै आएका अडानहरू पुन: जानकारी गराइएको थियो र समाधानका लागि नेपालका तर्फबाट स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको थियो । र, वार्ताद्वारा नै तथ्य तथा ऐतिहासिक प्रमाणहरूका आधारमा देखापरेका समस्याहरूको समाधान खोजिनुपर्ने समाधान प्रस्तुत गरिएको थियो । त्यहाँ गोयल ( हरू ) का तर्फबाट नेपालका प्रमको प्रस्तुतिलाई सकारात्मक रूपमा लिदै अविलम्ब वार्ताद्वारा समाधानका लागि अघि बढ्नुपर्ने भनाइ राखिएको थियो । नेपाल – भारतका बीचमा कुनै समस्या छन् भने तिनलाई संवादका माध्यमबाट हल गर्न सकिन्छ भन्ने अकाट्य निष्कर्षमा पुगिएको थियो ।

५-  विगत केही समयदेखि केही असहज बन्न पुगेको नेपाल-भारत सम्बन्धलाई यही अवस्थामा रहन दिनु नहुने मान्यताका साथ गरिएको यो पहल र प्रयत्नलाई एक स्वरमा खासखास खालका मानिसहरूद्वारा किन विरोध भइरहेको छ ? तिनीहरूले किन विरोध गरिरहेका छन् ? यसलाई अघि सारेर प्रम केपी शर्मा ओली र उहाँले नेतृत्व गरेको सरकारको विरोधमा किन खनिदैछन् – ती मानिसहरू ? कारणहरू राम्ररी बुझिएको छैन । अहिले धेरै कुरा किन गर्ने ! उहाँहरूले वास्तविकता नबुझी पूर्वाग्रह राखेर वा विरोधका लागि विरोध गर्नुपर्छ भन्ने अस्वस्थ्य मानसिकता बोकेर यी सबै काम गरिरहनु भएकोछ भन्ने कुरा ठोकेर भन्न सकिन्छ । प्रोटोकललाई ख़्याल नगरिएको, मर्यादाको पालना नगरिएको, छिमेकी मुलुकको जासूसी संस्थाको योजनामा संचालित हुन खोजेको, वार्ताका विषयहरूलाई रहस्यमा राखिएको, राष्ट्रियता र स्वाधीनतामा आँच पु-याइएको आदि भनेर आरोप लगाउने काेशिस भइरहेकाे छ । अर्थात्, यी सबै कुरा गरेर कम्युनिस्ट पार्टीको सरकार विरूद्धमा एउटा गलत खालकाे बहस सिर्जना गर्न खोजिदैछ । दुर्भाग्य ! कम्युनिस्ट पार्टीकै कतिपय नेताहरू समेत यस अभियानमा संलग्न हुन खोजेका देखिदैछन् ।

६- यतिबेला एउटा कुरा सबैले ख़्याल गरौं – केपी शर्माओली र उहाँले नेतृत्व गरेको यस सरकारका विरूद्ध ती मानिसहरू अहिले विशेष निर्लज्जतापूर्वक लागेका छन् , जो विगतमा छिमेकीको न्यानो काखमा सुतेर देशका विरूद्ध गतिविधिहरू गरिरहेका थिए ! विगतमा भारतको ‘ रअ’ का हाकिमहरूसित भेट गर्न तँछाड मछाड गर्दै यिनै मान्छेहरू छिमेकी मुलुक पुग्दथे , त्यहाँ खुसामदका बिन्ती – बोली बिसाउँथे । विडम्बना ! अहिले उनीहरू समेत राष्ट्रियताको बोलीमा लोली मिसाउँदै ओलीले नेतृत्व गरेको सरकारका विरूद्ध बृहद गोलबन्दीको नायक बन्ने प्रयत्न गरिरहेका छन् !!

प्रतिक्रिया दिनुहोस
Advertisement