एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नीट परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणबारे सार्वजनिक गरेको भिडिओले सामाजिक सञ्जालमा नयाँ कीर्तिमान कायम गरेको छ ।
मोदीले प्रश्नपत्र चुहावट घटनामा सरकारले चालेका कदम र आगामी योजनाबारे जानकारी दिँदै इन्स्टाग्राममार्फत सार्वजनिक गरेको भिडिओ २४ घण्टामै ३० करोडभन्दा बढी पटक हेरिएको हो ।
शनिबार दिउँसोसम्म उक्त भिडिओ ३४ करोडभन्दा बढी पटक हेरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
इन्स्टाग्राममा छोटो भिडिओका रूपमा सार्वजनिक गरिएको उक्त सामग्री २४ घण्टाको अवधिमा सबैभन्दा धेरै हेरिएको भिडिओ बनेको दाबी गरिएको छ। यसअघि यो कीर्तिमान चर्चित युट्युबर आईशोस्पिडको नाममा थियो ।
फिफा विश्वकपका क्रममा दक्षिण कोरियाली सांगीतिक समूह बीटीएससँगको भेटसम्बन्धी आईशोस्पिडको भिडिओले करिब ३० करोड भ्यु पाएको थियो। मोदीको पछिल्लो भिडिओले उक्त रेकर्ड तोडेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
भिडिओ भाइरल भएपछि मोदीको इन्स्टाग्राम खातामा एकै रात करिब १० लाख नयाँ अनुयायी थपिएको जनाइएको छ । भिडिओले पाएको व्यापक प्रतिक्रियापछि मोदीले शनिबार अर्को भिडिओ सार्वजनिक गर्दै समर्थन र प्रतिक्रियाका लागि धन्यवाद दिएका छन् ।
नीट परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर भारतमा विद्यार्थी आन्दोलन चर्किरहेको छ।
विद्यार्थीहरूले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासहित विभिन्न माग राखेर नयाँ दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गरिरहेका छन् ।
विद्यार्थी आन्दोलन देशका विभिन्न क्षेत्रमा फैलिँदै गएपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सरकारको धारणा सार्वजनिक गरेका हुन्।
मोदीले प्रश्नपत्र चुहावटको घटना लाखौं विद्यार्थी र अभिभावकका लागि अत्यन्त पीडादायी विषय भएको बताएका छन् ।
उनले घटनामा संलग्न व्यक्तिहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको र दोषीलाई पक्राउ गरिएको दाबी गरेका छन् ।
उनले विद्यार्थीहरूको शैक्षिक वर्ष प्रभावित नहोस् भन्ने उद्देश्यले सरकारले छोटो समयमै परीक्षा सञ्चालनको व्यवस्था गरेको र लाखौं विद्यार्थी सहभागी हुने गरी तयारी गरिएको बताएका छन् ।
मोदीले सरकार यस घटनामा दोषीलाई कुनै पनि हालतमा छुट नदिने भन्दै कडा कारबाहीका लागि द्रुत न्याय प्रक्रियाको व्यवस्था गर्न लागिएको जानकारी दिएका छन् ।
उनका अनुसार सम्बन्धित निकायले आवश्यक कानुनी व्यवस्थासहितको मस्यौदा तयार गरिसकेको छ ।
मन्त्रिपरिषद्मा छलफलपछि त्यसलाई अन्तिम रूप दिइने र संसदबाट आवश्यक कानुन पारित गर्ने प्रयास गरिने उनले बताएका छन् ।




प्रतिक्रिया