काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा दुईजना मन्त्री मात्रै सहभागी हुने भएका छन्।
यसअघि चारजना मन्त्री भारत जाने भनिए पनि प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल मात्रै जाने भएका हुन्।
परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले शुक्रबार यसको जानकारी दिएका हुन्।
मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहसँगै मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार र अन्य वरिष्ठ सरकारी अधिकारीसहित ३४ सदस्यीय सरकारी टोली भारत जानेछ।
तर, निजी क्षेत्रका व्यवसायी र सञ्चारकर्मीको टोली भने आफ्नै खर्चमा भारत जान लागेको छ। व्यवसायीमध्ये ५२ जना भ्रमणमा सहभागी हुनेछन्। सञ्चारकर्मीको टोलीमा कति जना रहने खुलाइएको छैन।
प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो १ः३० बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गर्नेछन्। उनी मंसिर ७ गते नै स्वदेश फर्कने कार्यक्रम छ।
भारतको विदेश मन्त्रालयले भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने विदेश मन्त्रालयले जनाएको छ।
त्यसैगरी भारतीय विदेशमन्त्री एस. जयशंकरले पनि प्रधानमन्त्री शाहसँग भेट गर्ने कार्यक्रम छ। प्रधानमन्त्री मोदीले शाहको सम्मानमा दिवाभोज आयोजना गर्नेछन्।



प्रतिक्रिया