काठमाण्डु– नागार्जुन नगरपालिकाका पूर्व नगर प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
अख्तियारले विशेष अदालतले आंशिक सफाइ दिने गरी गरेको फैसला चित्त नबुझेको भन्दै बिहीबार बस्नेतविरुद्ध सर्वोच्चमा पुनरावेदन दर्ता गरेको हो ।
अख्तियारले बस्नेत, उनकी श्रीमती उर्मिला बस्नेत र अन्य बिचौलियाहरू विरुद्ध तीनवटा मुख्य क्षेत्रमा भ्रष्टाचार भएको दाबी गर्दै पुनरावेदन गरेको छ।
बस्नेतले पदमा रहँदा ‘पद्मा कोलोनी’का सञ्चालक राजुप्रसाद कँडेल र सोही समूहका कम्पनीहरूसँग सेटिङ गरी ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घूस लिएका थिए।
सो रकमको स्रोत लुकाउन विभिन्न व्यक्तिका नाममा घरजग्गा खरिद गरेको र सम्पत्ति शुद्धीकरण गरेको अख्तियारको ठहर छ।
अख्तियारले बस्नेतले घुस लिएको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा बिगो कायम गर्दै विशेष अदालत, काठमाण्डुमा आरोपपत्र दायर गरेको थियो। आयोगले उक्त कसुरमा कैद, बिगोबमोजिम जरिबाना तथा थप सजायको माग गरेको थियो।
यसैगरी, आरोपितहरूले घुसबाट प्राप्त गैरकानुनी रकम तथा सम्पत्तिको स्रोत लुकाउने उद्देश्यले विभिन्न व्यक्तिगत प्रयोजनमा खर्च गरेको पुष्टि भएको भन्दै अख्तियारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत समेत मुद्दा दायर गरेको थियो। सो मुद्दामा १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा बिगो कायम गरी सजाय तथा सम्पत्ति जफतको माग गरिएको थियो।
तर, विशेष अदालतले २०८२ असार ६ गतेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो।
विशेष अदालतको उक्त फैसला चित्त नबुझेको भन्दै अख्तियारले २०८३ वैशाख २३ गते सर्वोच्च अदालत मा पुनरावेदन निवेदन दर्ता गरेको जनाएको छ।




प्रतिक्रिया