स्व डा. शान्ता थपलिया महिला सशक्तिकरण अवार्ड’ मोहनालाई


काठमाडौं- यस वर्षको ‘प्रो. डा. शान्ता थपलिया महिला सशक्तिकरण अवार्ड’ राष्ट्रिय मानवअधिकार आयोगकी आयुक्त मोहना अन्सारीलाई प्रदान गरिएको छ ।

कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) की संस्थापक स्वर्गीय प्रो: डा. शान्ता थपलियाको स्मृतिमा स्थापना गरिएको अवार्ड अन्सारीलाई प्रदान गरिएको ल्याककी अध्यक्ष अनिता न्यौपाने थपलियाले बताइन् ।

ल्याकको ३२ औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा संस्थाका संस्थापक महेन्द्र प्रसाई र सूर्यकिरण गुरुङ्बाट आयुक्त अन्सारीलाई अवार्ड प्रदान गरिएको हो ।

बाँकेको निम्न वर्गीय मुस्लिम परिवारमा जन्मिएकी मोहनाले गरिवी र अभावका बिच निकै संघर्ष गर्दै यो स्थानसम्म पुगेर उत्पीडित र उपेक्षामा परेका वर्ग र समुदायको न्यायका लागि क्रियाशील रहेबाफत उनलाई यो अवार्ड प्रदान गरिएको पनि अध्यक्ष थपलियाले बताइन् ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा आउने कार्यक्रम भए पनि प्रधानमन्त्री कार्यालयमा अकस्मात बैठकमा जानु पर्ने भएपछि मन्त्री थापा कार्यक्रममा आउन नसकेको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा संस्थामा १५ वर्ष भन्दा बढी समयदेखि कार्यरत कर्मचारीलाई पनि सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement