नेविसंघ महोत्तरीको विवाद चुलिँदै


महोत्तरी – नेपाल विद्यार्थी संघ (नेविसंघ) महोत्तरीको विवाद चुलिन थालेको छ । छलफल नै नगरी जिल्लाका नेताहरुले अध्यक्षका लागि सुनिल सुमनको नाम केन्द्रमा पठाएपछि विवाद चुलिन थालेको हो ।

केन्द्रबाट जिल्ला अध्यक्षका लागि तीन जनाको नाम पठाउन पत्राचार गरे पनि जिल्लाका नेताहरुले सुमनको नाम मात्र पठाएपछि विवाद बढेको हो । यस विषयमा बुधबार नै २३ जना विद्यार्थी नेताले सामूहिक रुपमा विज्ञप्ति निकालेर विरोध जनाइसकेका छन् । नेविसंघको लोकतान्त्रिक इतिहास र गरिमा नै चोट पुगेको उनीहरुको भनाइ छ ।

नेविसंघका केन्द्रीय सदस्य विजय रायसहितले निकालेको विज्ञप्तिमा आफुखुसी मनोमानी वा केही सीमित व्यक्ति र स्वार्थको समूहको प्रभावमा परेर सुमनको मात्र एकल नाम पठाउने निर्णय तत्काल सच्याउन माग गरिएको छ । साथै उनीहरुले विद्यार्थीहरुको भेला बोलाउन पनि माग गरेका छन् ।

स्ववियु निर्वाचन नजिकिँदै गर्दा नेविसंघको आन्तरिक विवादले जिल्लाका दुईवटा क्याम्पसमा हुने आसन्न निर्वाचनलाई समेत असर पर्ने देखिएको छ । केन्द्रले तोकेको अध्यक्ष सुमनलाई विद्यार्थी नेताहरुले स्वीकार गर्न नसक्दा क्याम्पसका एकाइ कमिटी समेत प्रभावित हुने अवस्था सिर्जना भएको हो । क्याम्पसका एकाइ सभापतिहरुले समेत सुमनको संयोजकत्वको सम्बन्धमा आपत्ती जनाएका छन् ।

विद्यार्थीको असन्तुष्टिलाई माउ पार्टी कांग्रेससका केही नेताहरुले समेत समर्थन जनाएका छन् । कांग्रेस महोत्तरीका पूर्वसचिव बजरंग नेपालीले विद्यार्थी नेताहरुको असन्तुष्टि जायज रहेको वताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement