मोरङको केराबारी गाउँपालिकामा भेटिएकाे बम सेनाले डिस्पोज गर्‍यो


मोरङ – मोरङको केराबारी गाउँपालिका कार्यालयमा गएराति अज्ञात समूहले बम विस्फोट गराएको छ । गाउँपालिका कार्यालय अगाडि राखिएको बम भने शनिबार बिहानमात्रै डिस्पोज गरिएको छ ।

केराबारी गाउँपालिका–१० मा रहेको गाउँपालिका कार्यालयमा गएराति १० बजे बम विस्फोट भएको सोही गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी लोकदर्शन थापाका अनुसार, विस्फोटबाट कार्यालयका कोठासँगै छिमेकका घरमासमेत क्षति पुगेको छ ।

त्यस्तै, गाउँपालिका कार्यालयनजिकै बम भेटिएको छ । कार्यालयबाट करिब ४० मिटर उत्तरतर्फ सडकमा बम भेटिएको हो । उक्त बम भने नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार बिहान डिस्पोज गरेको डीएएसपी थापाले जानकारी दिए ।

गाउँपालिका कार्यालयनजिकै बम भेटिएको जानकारी पाएपछि भेला भएका स्थानीय सडकमा बम राखिएको जानकारी पाएपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए । तर, सुरक्षाकर्मी समयमै नपुग्दा रातभर त्रास छाएको थियो ।

डीएसपी थापाका अनुसार, दुवै घटनामा विप्लव समूहको संलग्नता हुनसक्ने ठानिएको छ । तर खुलिसकेको छैन ।

मोरङमा एक साताभित्र भएको यो दोस्रो हिंसात्मक घटना हो । यसअघि बिहीबार मात्रै विप्लव समूहले मोरङको मिक्लाजुङमा डोजर जलाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement