बाजुरा जिल्लाको कारागारमा क्षमताभन्दा बढी कैदी


बाजुरा– बाजुरा जिल्लाको कारागारमा क्षमताभन्दा बढी कैदी राखिएको छ । कारागारमा २५ जनाको कैदी क्षमता भएको कारगारमा ३१ जना कैदी राखिएको जिल्ला कारगार बाजुराले जनाएको छ ।

कैदी राखिएको भवन पनि जीर्ण बन्दै गएकाले मर्मत नहुँदा बास बस्नसमेत अवस्थामा नरहेको कैदीले गुनासो गरेका छन् । २०३९ सालमा स्थापना गरिएको कारागार कार्यालय ३५ वर्ष बितिसक्दा पनि पुनःनिर्माण हुन सकेको छैन् ।

जम्मा २५ जना कैदी बन्दीका लागि क्षमता भएको बन्दी गृहमा भवन अभावमा ३१ जना कैदी बन्दी जीर्ण भवनमा बस्न बाध्य भएका छन् । २५ जनाको क्षमता रहेको बन्दीगृहमा अहिले फरकफरक अपराधमा संलग्न रहेका कैदी बन्दी बसोबास गर्दै आइरहेको जिल्ला कारागार प्रमुख नन्दसिंह कार्कीले जानकारी दिए ।

कारागार प्रमुख कार्कीका अनुसार कर्तव्य ज्यान मुद्दामा १० र चार पुर्पक्ष थुनुवा गरी १४ जना कर्तव्य ज्यान मुद्दाका रहेका छन् । त्यस्तै जबर्जस्ती करणी मुद्दामा आठ कैदी र तीन पुर्पक्ष थुनुवा गरी ११ जना रहेका छन् । त्यसैगरी ज्यान मार्ने उद्योग एक, ओसार पसार मुद्दामा थुनुवा एक, लागुऔषध मुद्दामा थुनुवा दुई र बालविवाह मुद्दामा एक गरी ३१ जना कैदी कारगारमा रहेको कार्कीको भनाइ छ । जसमा कैदी १९ र थुनुवा १२ जना रहेको कारागार कार्यालय बाजुराले जनाएको छ ।

कैदी बन्दीको सुरक्षाका लागि खटिएको कारागार सुरक्षा गार्डको भवन पनि जीर्ण रहेको छ । कैदी बन्दीको सुरक्षाका लागि २० जनाको दरबन्दी भए पनि पर्याप्त मात्रामा सुरक्षाकर्मी नभएकोे बताए । जेलर कर्मचारी नभएकै कारण आफूहरुले सास्ती बेहोर्नु परेको छ ।

खानामा पनि गुणस्तर नभएको एक वर्षदेखि चर्पीको समेत समस्या भएको कैदी नाइके विमल शाहीले बताए । उनले आफूहरु हरेक मुद्दा लागेर जेल आए पनि धेरै काम गर्न सक्ने क्षमता भएका कैदीलाई यसरी बन्द कोठामा राख्नुभन्दा देश निर्माणका अभियानमा लगाउनुपर्ने कैदी नाइके शाहीले बताए । सरकारी बाटो खन्न होस् या कुनै पुल बनाउन कैदीको जमातलाई प्रयोग गरे देशमा धेरै राहत हुने दाइ नाइके रुपेश रावल बताए ।

बाजुरा जिल्लाको कारागारमा आयआर्जन वा सीप विकास तालीम आवश्यक रहेको कैदी बन्दी मोहन बिष्ट बताए । जेलभित्र नै विभिन्न सीप सिकाएर आयआर्जनका कार्यमा जिल्ला कारागारले ध्यान नदिएको उनले बताए ।

जिल्ला कारागार कार्यलयका प्रमुख तथा जेलर नन्दसिंह कार्की पनि कैदी बन्दीलाई भएको समस्या स्वीकार गरे । “खानेपानी, शौचालय, विद्युत्देखि कार्यालयका कर्मचारीको अभाव र बन्दीलाई हेरचाह गर्ने सुरक्षाकर्मीको ब्यारेकसमेत जीर्ण बन्दै गएको छ ।” उनले भने । १० जना कर्मचारी दरबन्दी रहेको कारागार बाजुरामा हाल पाँच जना मात्र कर्मचारी कार्यरत रहेको र २५ जना क्षमता रहेको कारागार बाजुरामा हाल ३१ जना राख्नुपरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement